राजनीति

एकीकृत समाजवादी कम्युनिष्ट एकताका लागि बाधक बन्दैन : अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी कम्युनिष्ट एकताका लागि बाधक नबन्ने बताउनुभएको छ ।

अध्यक्ष नेपाल

उपत्यका विशेष प्रदेश कमिटीद्वारा आज आयोजित अगुवा कार्यकर्ता प्रशिक्षणमा उहाँले अहिले कम्युनिष्ट एकताका लागि विभिन्न कम्युनिष्ट पार्टीबीच चरणबद्ध छलफल चलिरहेको बताउँदै कम्युनिष्ट सिद्धान्त र आदर्शलाई छोडेर एकता गर्न नहुनेमा आफूहरु प्रतिबद्ध रहेको प्रष्ट पार्नुभयो ।

कम्युनिष्ट शक्तिहरु एकीकृत हुनुपर्नेमा अधिकांश कम्युनिष्ट विचारका दलहरु सहमत रहेको बताउँदै उहाँले भन्नुभयो, “हामीसँग कुन ढङ्गको व्यवहार हुन्छ त्यसमा भर पर्छ, हामी छलफल गर्दै जानेछौँ ।”

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले कम्युनिष्ट आदर्शलाई मार्गदर्शक सिद्धान्तका रुपमा अवलम्बन गर्ने सबै दललाई मिलाउन आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले मुलुकको बृहत्तर हितका साथै जनताको आर्थिक तथा सामाजिक रुपान्तरणका लागि सबै कम्युनिष्टलाई गोलबद्ध गराएर राष्ट्र निर्माण गर्नुपर्नेमा जोड दिँदै त्यसको लागि विभिन्न रूपमा छरिएका कम्युनिष्टलाई मिलाएर बलियो पार्टी निर्माण गर्नुपर्ने खाँचो औँल्याउनुभयो ।

अध्यक्ष नेपालले मुलुकमा जनताको सङ्घर्षबाट प्राप्त राजनीतिक उपलब्धिका रूपमा प्राप्त वर्तमान राजनीतिक प्रणाली समाप्त पार्न केही समूह क्रियाशील रहेकाले संविधान, गणतन्त्र र सङ्घीयताको रक्षा गर्न प्रजातान्त्रिक शक्तिसँग पनि सहकार्य जरुरी रहेको विचार व्यक्त गर्नुभयो ।

निर्धारित समयमै पार्टीको महाधिवेशन सम्पन्न हुने जानकारी दिँदै उहाँले सङ्गठन निर्माणमा लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.