जन सरोकार

कोरोना सङ्क्रमित युवतीसँग आएका बर्दियाका २ सहित ८३ क्वारेन्टाइनमा

बर्दियामा भारतलगायत विभिन्न देशबाट आएका ८३ जनालाई क्वारेन्टाइनमा राखिएको छ । भारत तथा अन्य मुलुकबाट ५ सय १७ जना बर्दियामा भित्रिएको लगत सङ्कलनबाट खुलेको छ ।

फ्रान्सबाट कतार हुंँदै यही चैत ६ गते एयर अरेबियाबाट नेपाल आएकी कोरोना सङ्क्रमित १९ वर्षीया युवती चढेको विमानमा आएका दुई जनासहित क्वारेन्टाइनमा राखिएको हो । सो विमानमा बर्दियाका दुई जना आएकामा खोजेर एक जनालाई खजुरा गाउँपालिकामा बनाइएको क्वारेन्टाइनमा राखिएकोे पुष्टि प्रहरीले गरेको छ ।

बाँके ठेगाना भए पनि बर्दिया बाँसगढीका अर्का व्यक्तिलाई भने बाँसगढी नगरपालिकाको क्वारेन्टाइनमा राखिएको बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताउनुभयो ।

यसै गरी सप्तरी जिल्लाको विभिन्न स्थानमा बनाइएको क्वारेन्टाइनमा भारतलगायत विदेशबाट आएका पाँच महिलासहित ९३ जनालाई राखिएको छ । भारतीय खुलासीमामा रहेको सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकामा सात पुरुष, कञ्चनरुप र शम्भुनाथ नगरपालिकामा पाँच÷पाँच पुरुष, बोदेबसाइन नगरपालिकामा दुई पुरुष र राजविराज नगरपालिका–२ स्थित साइकृष्ण मेडिकल कलेज एण्ड हस्पिटलमा एक महिलासहित १२ जनालाई राखिएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवका अनुसार बलानबिहुल गाउँपालिकास्थित स्वास्थ्य चौकी मल्हनियामा एक महिलासहित १४, छिन्नमस्ता गाउँपालिका–३ स्थित चौरसिया धर्मशालामा तीन महिलासहित १३, तिलाठी कोइलाडी गाउँपालिकामा १२ पुरुष, बिष्णुपुर गाउँपालिकास्थित जनता मावि बिष्णुपुर कट्टीमा आठ पुरुष, महादेवा गाउँपालिकामा छ पुरुष, राजगढ गाउँपालिकामा पाँच पुरुष, तिरहुत गाउँपालिकामा तीन पुरुष, रुपनी गाउँपालिका–४ स्थित जमुनी मधेपुरा माविमा एक पुरुष राखिएको छ ।
खुला सीमाको विभिन्न नाकाबाट आएका र हवाई उडानबाट आएकाको खोजी गरी सम्बन्धित नगरपालिका तथा गाउँपालिकामै व्यवस्था गरिएको क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनिल खनालले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.