राजनीति

तनहुँ– १ उपनिर्वाचन : तीन ठूला दलबीच रोचक भीडन्त

आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि तनहुँमा ठूला राजनीतिक दलको उम्मेदवारी टुङ्गो लागेको छ । नेपाली कांग्रेस, नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार टुङ्गो लगाएका हुन् ।

नेपाली कांग्रेसका तर्फबाट पार्टीका केन्द्रीय सदस्य गोविन्द भट्टराईले उम्मेदवारी दिनुहुनेछ । उम्मेदवारी दर्ताका क्रममा पार्टीका महामन्त्री गगनकुमार थापाको उपस्थिति रहने नेपाली कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले जानकारी दिनुभयो ।

उम्मेदवार भट्टराई शनिबार नै गृहजिल्ला आएर कार्यकर्ता भेटघाटमा लागिसक्नुभएको छ । उहाँले शनिबार आँबुखैरेनी गाउँपालिका, व्यास नगरपालिका–११, आज व्यास–१ र २ मा कार्यकर्ता भेटघाट गरिसक्नुभएको छ ।

नेकपा (एमाले) का तर्फबाट पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालले उम्मेदवारी दिनुहुनेछ । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट अर्थविद् डा स्वर्णिम वाग्लेले उम्मेदवारी दिनुहुनेछ । उम्मेदवार वाग्ले आज तनहुँ आइपुग्नुभएको सो पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो ।

नेकपा (एकीकृत समाजवादी)का तर्फबाट पोलिटब्युरो सदस्य प्रतापलाल श्रेष्ठले उम्मेदवारी दिने तय भएको सो पार्टीका जिल्ला अध्यक्ष श्रीराम कार्कीले जानकारी दिनुभयो । अन्य साना राजनीतिक दल पनि उम्मेदवार छनोटको अन्तिम तयारीमा पुगेका छन् ।

सोमबार उम्मेदवारी दर्ताको कार्यक्रम छ । निर्वाचन कार्यतालिकाअनुसार तनहुँमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ ।

मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले सबैको सहयोगबाट निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्षरुपमा सम्पन्न गर्न सकिने बताउनुभयो । जिल्लाका राजनीतिक दल, सुरक्षा निकाय, पत्रकार लगायतको सहयोगबाट निर्वाचनलाई मर्यादित र भयरहितरुपमा सम्पन्न गर्न सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो ।

क्षेत्र नं १ बाट निर्वाचित वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित हुनुभएपछि रिक्त रहेको यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनको तयारी सुरु भइसकेको निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिनुभयो । निर्वाचनमा खटिने कर्मचारीको विवरण सङ्कलनको काम भइरहेको ढकालले बताउनुभयो ।

उक्त क्षेत्रअन्तर्गतका ४२ वडामा ६९ मतदानस्थल तथा एक सय ५२ मतदान केन्द्र छन् । यो क्षेत्रमा एक सय ८५ मतदाता घटेर एक लाख २३ हजार तीन सय पाँच कायम भएको छ ।

मङ्सिर ४ गतेसम्म सो क्षेत्रमा एक लाख २३ हजार चार सय ९० मतदाता थिए । निर्वाचनमा ६६ हजार नौ सय ६५ मत खसेकामा नेपाली कांग्रेसका तर्फबाट पौडेल २५ हजार तीन सय १८ मत प्राप्त गरी विजयी हुनुभएको थियो । प्रतिस्पर्धी नेकपा (एमाले) का एकबहादुर रानाले १९ हजार नौ सय ४३ मत प्राप्त गर्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.