जन सरोकार

यस्तो छ लुम्बिनीको विकासका लागि विज्ञहरुको सुझाव

विश्व शान्तिका अग्रदूत भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीको विकासका लागि अन्तर्राष्ट्रिय विशेषज्ञ समितिले ४२ बुँदे सुझाव दिएका छन् ।

बृहत्तर लुम्बिनी क्षेत्रको ऐतिहासिक, सांस्कृतिक सम्पदाको दिगो संरक्षण, विकास र पर्यटन प्रवद्र्धनका विषयमा तीन दिनसम्म लुम्बिनीमा भएको अन्तर्राष्ट्रिय विशेषज्ञ समितिको छलफलबाट विज्ञले पुरातात्विक संरचनाको संरक्षण र दिगो विकास र पर्यटनमा स्थानीयलाई जोडेर अगाडि बढाउनका ४२ बुँदे सुझाव दिएका हुन् ।

छलफलपछि प्रस्तुत सुझाव संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पुरातात्विक विभाग, लुम्बिनी विकास कोष र युनेस्कोले लागू गर्नुपर्नेछ ।

अन्तर्राष्ट्रिय विशेषज्ञ समितिमा लुम्बिनीस्थित मायादेवी मन्दिरभित्रको पुरातात्विक संरचनाका विषयमा गहनरुपमा छलफल भएको लुम्बिनी विकास कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले जानकारी दिनुभयो ।

लुम्बिनी, तिलौराकोट र बृहत्तर लुम्बिनी क्षेत्रको पुरातात्विक सम्पदा संरक्षण र दिगो विकासका सवालमा अन्तर्राष्ट्रिय विज्ञले गहन छलफल गरेका थिए ।

संयुक्त राष्ट्र सङ्घको सहयोगमा केञ्जो टाङ्गेले तयार पारेको लुम्बिनी गुरुयोजनाको मर्मअनुसार सम्पदा संरक्षणका संरचना बनाउनुपर्ने, बृहत्तर लुम्बिनी क्षेत्रमा पनि त्यही गुरुयोजनालाई अनुशरण गर्नुपर्ने समितिले सुझाव दिएको छ ।

समितिले पर्यटनसँग स्थानीयलाई जोडेर जीविकोपार्जनमा समेत सहयोग गर्न सुझाव दिएको छ । त्यसैगरी तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकरणका लागि आवश्यक थप रणनीति बनाउनुपर्नेमा विज्ञ बैठकले जोड दिएको छ । युनेस्को (जापानीज फण्ड इन ट्रष्ट) अन्तर्गत प्रत्येक वर्ष अन्तर्राष्ट्रिय विशेषज्ञ बैठक बस्दै आएको छ ।

समितिको छलफलमा विश्व केन्द्र युनेस्कोका सम्पदा विज्ञ प्रो रोलान्ड लिन, अन्तर्राष्ट्रिय विज्ञ प्रा डा रविन कनिङहम, वरिष्ठ विश्व सम्पदाविद डंकन मार्शल, प्रा डा युकियो निसिमुरा, विज्ञ डा काई वाइज, युनेस्कोका नेपाल प्रतिनिधि मिचाल क्राफ्ट, पुरातात्व विभागका पूर्व महानिर्देशक कोषप्रसाद आचार्य, पुरातात्वविद् बसन्त विडारी, वरिष्ठ बौद्ध गुरु डा लाम, वरिष्ठ ध्यान गुरु विवेकानन्दले सम्पदाका विषयको छलफलमा सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.