किन यस्तो भयो हाम्रो समाज !
२०४६ सालमा प्रजातान्त्रिक परिवर्तनसंगै सबै नेपालीहरुमा रोजगारी, ब्यावसायिक वातावरण, शान्तिसुरक्षा, कानुनी शासन, विकास र समृद्धिको सुनौलो अपेक्षा थियो । यिनै कुराहरुको अभावले हाम्रो देश विश्व परिवेशमा अल्प विकसित भएको,
व्यवस्था नै बिकास र समृद्धिको बाधक रहेको बुझाइ नेतादेखि आम जनतासम्म पंचायती ३० वर्षमा सुदृढ र प्रवल हुँदै आएर सम्पूर्ण देश २०४६ सालको परिवर्तनको माहोलमा होमिएको थियो ।
पंचायतको संकुचित व्यवस्था,सक्रिण राजनीतिक सोच र संस्कृति अनि पंचायतमा हालीमुहाली गर्ने एक निश्चित मण्डलेवर्गको संकुचित बिकास अवधारणाले देशको बिकासमा अवरोध पुर्याइरहेको बुझाई जनतामा प्रबल थियो । यसै यथास्थितिलार्इ तोडेर एउटा राजनीतिक, आर्थिक, सामाजिक रुपले उदार व्यवस्था सहित देशको सर्बाङ्गिण बिकासको अपेक्षा पुरा गर्ने सुनौलो सोच सहित तत्कालिन राजनीतिक दलहरुको एजेन्डामा सम्पूर्ण समाज, राष्ट्र र जनता एकाकार भएकोले २०४६ सालको परिबर्तन सम्भब भयो ।
अब राजनीतिक परिबर्तन र व्यवस्था परिबर्तन संगै समाज र जनताका अपेक्षा पुरागर्ने संबिधान सहित त्यो नयाँ परिकल्पनालार्इ साकार गर्ने राजनीतिक, सामाजिक, सांस्कृतिक, प्रशासनिक संयन्त्रको बिकास गर्ने र जनताको अपेक्षा अनुरुप आर्थिक बिकासको लक्ष हाशिल गर्ने दायित्व २०४७ सालको संबिधान र त्यसपछि बनेका सरकार, कानुन र संसदलार्इ थियो । ठुलो अभिभारा पुरा गर्ने नेतृत्व र त्यसको अधिनमा कामगर्ने संयन्त्र पनि इमान्दार र परिवर्तन को सारतत्वलार्इ आत्मसात गरेको संयन्त्रको आवश्यकता थियो । तर बिडम्बना भनौ राजनीति र नेतृत्वले अर्कै बाटो समात्न पुग्यो । परिबर्तनको मूलमर्म परिबर्तनपछि बनेको राजनीतिक नेतृत्वले समाएर देशलाइ डोर्याउन सकेन । संबिधान जारी गरेर नयाँ सरकारको गठनसंगै आन्दोलन र परिवर्तनको काम सकिएको र बाँकी परिबर्तनलार्इ संस्थागत गर्ने र बिकास र समृद्धिको लक्ष संबिधानले आफै हासिल गर्ने भ्रममा देसलाइ छोडेर राजनीतिक दल र नेतृत्व फोहोरी राजनीतिक खेल र आफ्नो समृद्धिमा तल्लिन हुन थाल्यो ।
परिबर्तनलार्इ संस्थागत गर्ने अलग नीति, कर्मचारी संयन्त्रको पुनर्संरचना, निरन्तर राजनीतिक हस्तछेप र निगरानी, अनुगमन र मुल्यांकनको लागि निरन्तरको पहलकदमीको आवश्यकता थियो तर यी सबै कुरा त्यतिकै छोडेर त्यो बेलाको नेतृत्व निरन्तर सरकार बनाउने, सरकारमा टिकिरहने र लाभ र सत्ता शक्तिको पदमा आफु पनि रहिरहने र आफ्ना परिबार, नातागोता, नजिकका हनुमान कार्यकर्ता र दोश्रो, तेस्रो बरियताका आफ्नो दलका नेता कार्यकर्तालार्इ आफु सत्तामा टिक्ने संयन्त्रको रुपमा आफ्नो वरिपरि राख्न राजनीतिक र प्रसाशनिक पदमा स्थापित गर्ने खेल सुरु गरियो।
यसले परिबर्तनको मूल मर्म र गन्तब्यलाई धेरै संकीर्ण र संकुचित मात्र गरेन बरु एक प्रकारको नयाँ भ्रस्ट र दलाल संस्कृतिको जन्म गरायो । पंचायती संयन्त्रको निरन्तरताले संस्कृतिको पनि निरन्तरता मात्र भएन बरु नयाँ र ३० बर्षसम्म पंचायतको कारण सत्ता र सक्ति अनि देसको पद र प्रतिष्ठाका पद नपाएका र भ्रस्टाचार गर्ने अन्तरात्मामा रहेको सुसुप्त इत्छा र आकांक्षालाई जागृत, प्रस्फुटित र बिस्फ़ोटित गरायो जसले निरन्तर संबिधान, कानुन सत्ता र शक्तिलाइ तिनै पंचायतमा सुसुप्त रहेका स्याल र हुँडारहरुलाई फल्ने, फुल्ने अवसर र मलजल मात्र भयो ।
नेताहरु निरन्तर सत्ता। शक्ति र त्यसबाट प्राप्त हुने भोगविलास र आडम्बरपूर्ण बैभबमा मस्त रहे । त्यसैका लागि सम्पूर्ण शक्ति लगाउने होडबाजी नै चलिरह्यो। एक पछि अर्को सरकार बन्दै गए र संबिधान र व्यवस्था पनि परिबर्तन हुदै गए। अलग अलग पार्टि र खेलाडी सत्ता र शक्तिमा उदाउदै गए तर सबै स्याल र हुडारहरु मात्र। रास्ट्र र समाजको बिकास र समृद्धि निरन्तर ओरालो लाग्यो।
यस बीचमा लाखौ नेपालीको रोजगारी गयो,सयौ उद्योग धन्दा बन्द भए र बेचेर राजनीतिक दल र तिनका कार्यकर्ता र बिचौलियाको नाममा गयो, लाखौ नेपाली बिदेश पलायन भए, अरबौका राज्यका नाममा रहेका जमिनदेखि उद्योग धन्दा सबै व्यक्तिका नाममा दर्ता हुदै गए । अरबौका बिकास योजनाहरु सबै कमिसन र भ्रस्टाचारका औजार भए, देशलार्इ कायापलट गर्ने भाग्यरेखाहरु सबै राजनीतिक दल र तिनले खडा गरेका बिचौलिया मार्फत नेता कार्यकर्ताको समृद्धिका औजार भए । शिक्षा, स्वास्थ्य जस्ता आधारभूत कुराहरु पनि गरिब र सर्बसाधारण नागरिक को पहुँच बाहिर जाने क्रम निरन्तर चलिरहेको छ । सरकारी जागिर, लाभका पद र सरकारी श्रोत, साधनहरु सिमित दलाल र पुजीपतिहरुको पहुच र प्रयोगमा सिमित हुदै गयो र सम्पूर्ण व्यवस्था नै दलाल र बिचौलियाको कब्जामा गयो र यो क्रम निरन्तर चलिरहेको छ ।
एउटा नेटवर्क बिजिनेसमा २ बाट ४, ४ बाट ८ र ८ भाट १६ को अनुपातमा ब्यापार बिस्तार भए जसरी अथवा परालको आगो सल्किए जसरी दलाली र बिचौलिया संस्कृतिले समाजमा बिस्तार र फैलावटसंगै जरो गाड्दै गयो । २०४६ सालमा चप्पल लगाएर सिंहदरबार छिरेका नेताहरु जसरी आलिसान बंगला र सान सौकतको ब्यबसायिक, राजनीतिक घरानामा बदलिएका छन्, त्यसै गरी बिचौलिया र राजनीतिक दलका नेता कार्यकर्ताले पनि निरन्तर समृद्धि र बिजिनेस पाएका छन् ।
त्यसै गरी मन्त्रीबाट तिनका दलका नेता, नेताबाट कार्यकर्ता, कार्यकर्ताबाट तिनका आसेपासे हुँदै अहिले सबै जनतानै यहि दलाल संस्कृति, यही बिचौलिया धन्दा, ठगी, भ्रस्टाचार संस्कृतिमा अभ्यस्त भैसकेका छन् । यहि हाम्रो देशको संस्कृति बनिसकेको छ । नेपालीहरुमा अहिले आएर झुटो बोल्ने, झुक्याउने, ढाट्ने, ठग्ने, फट्याई गर्ने कुराहरु संस्कृति र संस्कारको रुपमा बिकसित भएको छ । यस्तो कुनै ब्यबसाय, पेसा र काम छैन जहाँ झुटो नबोलिएको र नझुक्याइएको होस् अथवा झुटो नबोली, नढाटी ,नाझुक्याई र नठगी कुनै पनि काम बन्दैन ।
सरकारी अफिसमा काम गराउनदेखि समाजसेवा गर्नसम्म कुनै न कुनै रुपले झुटको सहारा नलिई सम्भब नै छैन।घुस, कमिशन, नाजायज उपहार बिना कानुनसम्मत काम पनि हुदैनन् । यसैको परिणाम हो कि भुकम्पको बेलाको राहतदेखि कोरोना संक्रमणको बेलाको आवश्यक सामग्री खरिदसम्म पनि बिचौलिया र कमिशन बिना काम हुदैन र भएन भने सरकारले सार्बजनिक प्रयोगको लागि खरिद गरिएका स्वास्थ्य सामग्रीहरु पनि सायद अहिले हस्पिटलको सट्टा सत्ता र शक्तिमा भएका र तिनका नजिकका मानिसका घर घर मा थन्किएका होलान।
त्यसैको परिणाम हो कि अहिले नेपाली जनताले न सरकार न राजनीतिक दल न सरकारी प्रसाशनिक संयन्त्र कसैलाई विश्वास पनि गर्दैन र भरोसा पनि गर्दैन। सरकार भनेकै भ्रस्टाचारको लागि हो र भ्रस्टाचार सधै पुरस्कार हो भन्ने बुझेका र भ्रस्टाचार गर्ने व्यक्ति सधै पुरस्कृत भएको कुरा २०४६ सालदेखि प्रत्यक्ष देखेका, सुनेका र भोगेका जनताले अब त्यसलाई संस्कृति र संस्कार बनाइसकेका छन् । सबै नेपाली जनता जो आर्थिक रुपले सक्रिय उमेर समूहमा छन् उनीहरु सबै जसरी हुन्छ दलाली गरेर, ढाटेर, छलेर, झुक्याएर, बिचौलिया बनाएर, धुप हालेर सत्ता र शक्तिमा भएका मान्छेको खुट्टा मोलेर जेसुकै गरेर भए पनि आफ्नो र परिबारको रोजीरोटी कमाउनुलार्इ नै आफ्नो सत्कर्म मान्छन । निरन्तर दलाल र भ्रस्टाचारीहरुको समृद्धि र बिकासले नेपालि जनता लाइ सधै तेस्तै बन्न र गर्न सिकाएको छ र अहिले आएर त्यहि नै हरेक नेपालीको संस्कार र खुन बनिसकेको छ। मरेको लासमा पनि अवसर खोज्ने संस्कृतिको बिकास नै २०४६ सालको परिबर्तन र त्यस यताको राजनीतिको परिणाम हो।
यी कुराहरु एकपटक भुकम्पको बेला र अहिले कोरोन भाइरसको संक्रमणले उजागर गरेको छ। उदाहरणका लागि सभ्य र सुसंस्कृत समाज जस्तै जापान, कोरिया, युके जस्ता देशमा कोरोनाले नेपालभन्दा धेरै मानिस संक्रमित भएका छन् र धेरै जनको क्षति पुर्याएको छ, तर पनि ती देशहरुमा कानुनी शाुन बरकरार छ । मनबता र मानवीय समबेदना झन् मुखरित भएको छ, मानिसहरु सरकारका हरेक निर्णयमा काधमा काध मिलाएर पालन गर्दैछन र सरकारले नसकेका ठाउमा मानिसहरु स्वयम् सेवामा तल्लिन छन्। कम्युनिटी संस्थाहरु, स्कुलहरु, क्लबहरु सबै कोरोनसंग लड्न र समुदायमा समस्यामा रहेका मान्छेहरुलाई मनबता र समबेदनापूर्ण सहयोगहरु गर्दछन। ब्यबसायी, ब्यापारीहरुले संकटलार्इ आत्मसात गरेका छन् र बजारमा कुनै पनि चिजबस्तु पहिलेकै मूल्यमा बिक्रि हुन्छन। अनावश्यक कालाबजारी छैन ।
यसको ठिक उल्टो नेपालमा अहिले दैनिक उपभोग्य बस्तुको भाउ आकासिएको छ। बजारमा सप्लाईको समस्याको फाइदा लिन मूल्यवृद्धि गरेर लुट मच्चिएको छ । गरिबको दैनिकी दिन प्रतिदिन बत्तर हुँदै गएको छ । चामलदेखि सागसब्जी सबै कुरा किन्न नसकिने भएको छ । सरकार हुनु र नहुनु, अदालत हुनु र नहुनु, प्रहरी हुनु र नहुनु खासै फरक छैन । जसलाई जे गरे पनि खुल्ला अर्थतन्त्रमा छुट छ । लुट्नु गल्ति हैन लुटिनु चाहि गल्ति हो, ठग्नु त धन्दा हो तर ठगिनु चाहि गल्ति हो भन्ने संस्कृति स्थापित भएको छ ।
जनताले पनि प्रहरी, प्रसाशन, सरकार, अदालत कसैसंग पनि न्याय, विकास र सेवाको अपेक्षा खासै गर्न छोडेको छन्। सम्पूर्ण सिस्टम र व्यवस्थाप्रति जनविश्वास इतिहासकै तल्लोस्तरमा झरेको छ। अरु १, २ महिना कोरोना कन्ट्रोल भएन भने नेपालमा आर्मी शासनले पनि धान्न नसक्ने अराजकता सुरु हुने निश्चित छ । अराजकताले निम्त्याउने बिनास र कोरोनाले निम्त्याउने बिनास रोक्ने क्षमता अहिलेको ब्यबस्थासंग पक्कै पनि छैन तर हामी सबै कुरा टुलुटुलु हेरेर बिस्मातका साथ् बस्न बाध्य छौ। जसले गर्नुपर्ने हो, जो गर्ने हैसियतमा पद र शक्ति लिएर बसेका छन्, उनीहरुको सोच, उनीहरुको चेतना समाज र राष्ट्रको आवश्यकता सम्बोधन गर्ने स्तरमा बिकसित भएकै छैन । कमाउने र मोज गर्ने, अलिसान बंगला र गाडी जोड्ने पशुवत सो भन्दा माथि हाम्रो नेतृत्व उठ्न नसक्नु नै आज हामी तीन करोड नेपालीको बिडम्बना भएको छ ।
प्रतिक्रिया राख्नुहोस्