गोलकिपर किरण एसियाको साताका उत्कृष्ट खेलाडी घोषित

नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङ एसियाली फुटबल महासंघ (एएफसी)को छनोटमा एसियाकै शीर्ष खेलाडी बनेका छन् । साताको उत्कृष्ट खेलाडीको सूचीमा परेर विजेता हुने किरण पहिलो नेपाली हुन् ।
एएफसीले किरणसहित एसियाका शीर्ष १० खेलाडीको सूची सार्वजनिक गर्दै भोटिङका लागि आह्वान गरेकोमा किरणले सर्वाधिक भोट पाएर शीर्षस्थानमा रहेका हुन् ।
गत बिहिबार एएफसीले नाम सार्वजनिक गर्दै अप्रिल ४ सम्मका लागि भोटिङ गर्ने समय तोकिएकोमा किरणले सर्वाधिक ५५.६९ प्रतिशत भोट पाएर शीर्षस्थानमा रहेका हुन् । किरणपछि २०.७२ भोट पाउँदै साउदी अरेबियाका सालेह अल सेहरी दोस्रो स्थानमा रहे । त्यसै गरी इराकका अला अली मवाईले १०.१६ प्रतिशत भोट पाउँदै तेस्रो स्थानमा रहे ।
सूचीमा किरण, सालेह र अलासहित यूएईका अली माबखोत, कतारका मोहम्मद मुन्तरी, जापानका युया ओसाका, इरानका सरदार अजमोन, बहराइनका मोहमद मरहुन, जोर्डनका मुसा अल तामरी र ताजिकिस्तानका नका अलिसेर जालिलोभ परेका थिए ।
एएफसीले गत साता अन्तर्राष्ट्रिय फुटबलमा गरेको प्रदर्शनको आधारमा १० खेलाडीको मनोनयन सार्वजनिक गरेको थियो । जसको विजेता वेबसाइटमार्फत आउने भोटको आधारमा तय गरिने एएफसीको भनाइ थियो ।
किरणको कप्तानीमा नेपालले पहिलो उपाधि जित्ने क्रममा गत साता थ्री नेसन्स कपको उपाधि जितेको थियो । दशरथ रंगशालामा भएको फाइनलमा नेपालले बंगलादेशलाई २-१ गोलले पराजित गरेको थियो ।
नेपाललाई उपाधि दिलाएको दुई दिनअघि किरण भारतको आई लिग सिजन २०२१ को उत्कृष्ट गोलकिपर चुनिएका थिए । उनी पञ्जाव एफसीमा आबद्ध थिए । सिजनको १५ खेल मध्ये १४ खेल खेलेका किरणले ७ खेलमा क्लिनसिट राखेका थिए । जुन सिजनकै सर्वाधिक क्लिनसिट हो । सिजनमा उनले तीन पटक प्लेयर अफ दि म्याचको पुरस्कार प्राप्त गरेका थिए ।
किरण विदेशी लिगमा उत्कृष्ट भएको यो पहिलो पटक भने होइन । यसअघि सन् २०१८ मा किरण माल्दिभ्सको लिगमा उत्कृष्ट गोलकिपर घोषित भएका थिए । किरणले सो सिजनमा टिसी स्पोर्ट्सलाई माल्दिभ्सको लिगको उपाधि जिताउन उत्कृष्ट प्रदर्शन गरेका थिए । उनी माल्दिभ्सको लिग जित्ने पहिलो नेपाली खेलाडी पनि हुन् ।





प्रतिक्रिया राख्नुहोस्