अहिले अस्पतालहरु बिरामी जाँच्न पन्छिने भोलि अस्पताल नै वहिस्कारमा परे भने…
विश्वव्यापी महामारीका रुपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रणका लागि चौबीसै घण्टा तम्तयार रहनुपर्ने अस्पतालहरु अहिले सामान्य बिरामी जाँच्न समेत पीन्छने गरेका छन् । अस्पतालका गेटमा सुरक्षा गार्ड अहिले प्राविधिक बनेर जानेहरुको तापक्रम जाँच गर्छन्, चिकित्सकहरु पिपिईको अभाव भन्दै सामान्य बिरामीलाई पनि जाँच्न पन्छिन्छन् ।
कोरोना संक्रमणको सम्भावना देखाउँदै सरकारले निजी क्षेत्रका अस्पताललाई तयारी अवस्थामा बस्न निर्देशन दिए पनि अधिकांश अस्पताल गम्भीर छैनन् । उपत्यकामा कोरोनाका बिराी छैनन् तापनि अन्य रोगका बिरामी पनि अस्पतालले हेर्न मानिरहेका छैनन् ।
अहिले अस्पतालहरु सुनसान छन्, विभिन्न निजी अस्तालहरुले सामाजिक सञ्जालमा सुविधा उपलब्ध रहेको भन्दै सम्बन्धित चिकित्सकहरुको फोन नम्बर र सेवा अवधि तोकेर सूचना जारी गरे पनि ती सबै देखाउने दाँत बनिरहेका छन् । निजी अस्पतालहरुको गैरजिम्मेवारपनले कुनबेला कस्तो विपत्ति निम्त्याउने हो भन्ने चिन्ता बढेको छ । कोरोनाका कारणले केही नभए पनि अन्य सामान्य रोगकै कारण मानिसको मृत्यु हुनसक्ने जोखिम निजी अस्पतालहरुको व्यवहारले बढाइरहेको छ ।
हुन त सरकारले निजी क्षेत्रका अस्पतालसँग कोरोना उपचारबारे पटक पटक छलफल गर्नुका साथै ती अस्पताल र चिकित्सकलाई विभिन्न सुविधा दिने घोषणा पनि गरिसकेको छ । सोमबारकोे मन्त्रिपरिषद् बैठकले निजी क्षेत्रका चिकित्सकलाई सरकारी चिकित्सकसरह नै सुविधा दिने निर्णय गरेको छ । तथापि निजी क्षेत्रका अस्पताल उपचार गर्न उत्साहित छैनन् ।
सरकारले पटकपटक आग्रह गर्दै सम्भावित जोखिमको सामना गर्न अस्पतालहरुलाई तयारी अवस्थामा रहन माघ महिनामै निर्देशन दिएको थियो । तर उनीहरु जिम्मेवारप्बाट पन्छिएका छन् । अस्पतालका कर्मचारहीले विदा पाएका छन् । कतिपय अस्पताल त सुनसान र बन्द अवस्थामा छन् । कतिपय अस्पतालले ज्वरो आएका बिरामीलाई भर्नासमेत लिन मानेका छैनन् ।
तीनकुनेस्थित कान्तिपुर अस्पतालमा सोमबार एक आफन्तलाई ज्वरो आएको छ, जँचाउनु छ, ल्याऊँ कि नल्याऊँ भनी रिसेप्सनमा सोध्दा आकस्मिक कक्षमा गएर बुझ्न भनियो । आकस्मिक कक्षमा बुझ्न जाँदा सुरुमा कति ज्वरो छ, कुन देशबाट आएको हो, कति दिनदेखि ज्वरो आएको छ, सबै कुरा सोधेपछि ज्वरो हेर्ने डाक्टर नै आएको छैन भनेर फर्काइयो । त्यस्तै बानेश्वरमा रहेको एभरेस्ट अस्पतालको चेनगेट नै लागेको थियो । भित्र कर्मचारी थिए ।
उनीहरूलाई पनि ज्वरोको बिरामी जँचाउनु छ भनी सोध्दा त्यहाँबाट त सिधै यहाँ अहिले डाक्टर नै छैनन् भन्ने जवाफ दिइयो । ग्वार्कोमा रहेको ग्लोबल अस्पताल पनि बेखबर जस्तो देखियो । अस्पताल सुनसान थियो । रिसेप्सनमा सोध्दा अस्पतालमा कोरोना भाइरस भएका कुनै बिरामी नै नआएको र जाँच्ने तथा उपचार गर्ने तयारी पनि नरहेको जानकारी दिइयो । डाक्टरहरू पनि अस्पताल आउन नचाहेको रिसेप्सनबाट जानकारी प्राप्त भयो ।
ग्वार्कोमै रहेको बीएन्डबी अस्पतालले भने ज्वरो क्लिनिक सञ्चालन गरेको छ । अस्पतालले सुुरुदेखि नै तीन बेडको आइसोलेसन वार्ड सञ्चालन गर्दै आइरहेको जानकारी सो अस्पतालका डा. सरिता पाण्डेले दिनुभयो । कोभिड–१९ बिरामीका बारेमा सो अस्पतालले सम्पर्क व्यक्तिका रूपमा डाक्टर पाण्डेलाई तोकेको छ । उहाँका अनुसार अस्पतालले प्लान ‘सी’अनुसार आइसोलेसन वार्ड तयारी गरिरहेको छ । सो अस्पतालले अध्ययन अध्यापन गराउँदै आएको बीएमआईमा छुट्टै आइसोलेसन वार्ड तयारी गरिरहेको छ ।
त्यसो त निजी अस्पताल सङ्घका उपाध्यक्ष कुमार थापाले निजी क्षेत्रका अस्पताल काम गर्ने तयारी अवस्थामा छन् तर त्यसअनुसारको सुविधा सरकारले दिनुपर्ने बताउनुहुन्छ । सरकारले एउटा पीपीई दिन सकेको छैन भने अस्पताल र डाक्टरको अन्य सुरक्षा के गर्ला भन्दै निजी अस्पतालले आफ्नो क्षमताअनुसार काम गरिरहेको दाबी उहाँले गर्नुभयो ।
त्यसो त केही हजारको पिपिई पनि सरकारले दिनुपर्ने निजी अस्पतालहरुको शर्त आफैंमा उदेकलाग्दो छ । अनि पिपिईको अभाव देखाएर बिरामीको स्वास्थ्य जाँच नगर्ने उनीहरुको चाला गैरव्यावसायिक हो । देशलाई संकट परेका बेला केवल व्यापारिक सोचले मात्र काम गर्नु राष्ट्रघात नै हो । आयरल्याण्डका प्रधानमन्त्री (जो चिकित्सक पनि हुन) जनताको आत्मबल बढाउन र चिकित्सकहरुलाई प्रोत्साहित गर्न भन्दै पुनः चिकित्सा पेशामा फर्कएका छन् ।
यहाँ भने चिकित्सक नै सरकारले पिपिई दिएन भनेर पन्छिने गरेका छन् । स्वास्थ्य क्षेत्र पूर्ण व्यावसायिक क्षेत्र नभएर सेवामूलक व्यवसाय भए पनि नेपालको हकमा त्यस्तो देखिएको छैन । विश्वमा विकसित गरिएको सबैभन्दा अत्याधुनिक उपकरणहरुले सुसज्जित रहेको भन्दै महंगो शुल्क लिएर उपचारको नामममा शोषण गरिरहेका अस्पतालहरु देश र जनतालाई अप्ठुयारो पर्दा ताला ठोकेर बन्द गर्दा भोलिका दिनमा ती अस्पताल जनताले वहिस्कार गरे भने उनीहरुको हविगत के होला ?
प्रतिक्रिया राख्नुहोस्