जन सरोकारस्वास्थ्य

कर्णालीमा ६० प्रतिशत स्वास्थ्य जनशक्तिको दरबन्दी रिक्त

स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निर्देशक डा रविन खड्काले कर्णालीमा ६० प्रतिशत स्वास्थ्य जनशक्तिको दरबन्दी रिक्त रहेको बताउनुभएको छ ।

स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश

विश्व स्वास्थ्य दिवसको ७५औँ अवसरमा निर्देशनालयद्वारा शुक्रबार वीरेन्द्रनगरमा आयोजित सञ्चारकर्मीसँग अन्तरक्रियामा आफ्नो प्रस्तुति राख्दै उहाँले कर्णालीमा कूल नौ सय आठ जनामा तीन सय ६३ मात्र स्वास्थ्य जनशक्ति कार्यरत रहेको बताउनुभयो । “पाँच सय ४४ स्वास्थ्यकर्मीको दरबन्दी आज पनि खाली छ”, निर्देशक खड्काले भन्नुभयो, “यस्तो अवस्थाबाट यहाँको स्वास्थ्य सुधार कसरी हुन सक्छ ?”

तीनै तहको सरकारको प्रभावकारी समन्वय, सहकार्य हुन नसक्दा पनि स्वास्थ्य क्षेत्र प्रभावित भएको उहाँले जनाउनुभयो । निर्देशक खड्काले योगदानमा आधारित स्वास्थ्य बीमाको आवश्यकता औँल्याउँदैं स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बनाउन नीतिमा सुधार हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “स्वास्थ्य बीमा कार्यक्रममा हुनेले योगदान गर्नुपर्छ र नहुनेले त्यसबाट सेवा लिनुपर्दछ ।”

कर्णाली प्रदेश आयुर्वेद औषधालयका प्रमुख डा शङ्करप्रसाद रिजालले बदलिँदो जीवनशैलीका कारण मानवस्वास्थ्य चुनौतिपूर्ण बन्दै गएको बताउनुभयो । डा रिजालले भन्नुभयो, “हामीले प्राङ्गारिक उत्पादनसँग जोडिएका गतिविधि गर्न छोड्यौँ र प्रकृति प्रदत्त खानामा ध्यान दिएनौँ, त्यसले हाम्रो स्वास्थ्य अवस्था दिनानुदिन बिग्रँदै गएको छ ।”

विश्व स्वास्थ्य सङ्ठन कर्णाली प्रदेश प्रतिनिधि प्रदीप अधिकारीले स्वस्थकर बानी व्यवहार हरेक नागरिकको बाच्ने आधार भएको जनाउनुभयो । जनस्वास्थ्य प्रवद्र्धन हुने कार्यक्रममा सरोकारवाला निकायले ध्यान दिनुपर्ने बताउँदै अधिकारीले स्थानीय सरकारले यसको बढी अपनत्व लिनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.