नेतृत्वले कार्यकर्ताको मनोबल घटाएकाले पार्टी बलियो बनाउन संगठन विस्तार : नेपाल

सत्तारुढ नेकपा (एमाले)का असन्तुष्ट समूहका नेता एवें पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान पार्टी नेतृत्वले कार्यकर्ताको मनोबल घटाउने काम गरेकाले विभिन्न जिल्लामा गठन गरिएको समानान्तर कमिटी गठन पार्टीलाई बलियो बनाउन गरेको बताउनुभएको छ ।
उहाँले वर्तमान पार्टी नेतृत्वले कार्यकर्ताको मनोबल घटाएको, सङ्गठन छिन्नभिन्न बनाएको आरोप लगाउँदै सबै कार्यकर्तालाई एकताबद्ध गरी सुदृढ पार्टी बनाउने दाबीसमेत गर्नुभयो ।
विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै जिल्लामा गठन हुने कमिटीबाट पार्टी फुटाउने होइन यसबाट कार्यकर्तामा उत्साह थपिनुका साथै पार्टी एकताबद्ध हुने धारणा राख्नुभयो । नेता नेपालले पार्टीले लोकतान्त्रिक सङ्घीयताको मूल्य र मान्यता कायम राखी मुलुकमा सुशासनसहित जनताको जीवनस्तर उकास्ने कार्यमा जिल्ला दौडाहा कार्यमा लागेको विचार व्यक्त गर्नुभयो ।
पूर्वप्रधानमन्त्री नेपालले अदालतको आदेशलाई आफूले सम्मान गर्ने बताउँदै पार्टीमा विसं २०७५ जेठ २ गते अगाडिको सबै निर्वाचित सबै पदाधिकारी कायम रहनुपर्नेमा जोड दिनुभयो । एक प्रश्नको जवाफमा उहाँले प्रदेश सरकारविरुद्ध ल्याएको अविश्वास प्रस्ताव फिर्ता केही बाध्यताका कारण भएको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्