कालोबजारी गर्ने किर्गिज गणतन्त्रका मानार्थ अवैतनिक दूत सुलभ अग्रवालको पद खारेज
कोरोना भाइरसको संक्रमणका बेला राज्यको जिम्मवार पदमा रहेका कूटनीतिक नियोगको गाडी चडेर कालोबजारी गर्ने व्यवसायी सुलभ अग्रवालको अवैतनिक दूत पद खारेज भएको छ । सरकारले अग्रवाललाई नेपालका लागि किर्गिज गणतन्त्रका मानार्थ अवैतनिक वाणिज्यदूत तोकेको थियो ।
तर कोरोना संक्रमणका बेला यसको रोकथाम तथा उपचारमा प्रयोग हुने स्वास्थ्य उपकरणा आफैं गाडीमा गएर बढी मूल्यमा बेच्दै गरेको अवस्थामा अग्रवाल पक्राउ परेका थिए । अग्रवालले अन्दाजी ३५ सय रुपैयाँ पर्ने थर्मल गनको मूल्य बढाएर १५ हजार रुपैयाँ प्रतिगोटा बेचेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।
परराष्ट्र मन्त्रालयका प्रोटोकल महाशाखाले अग्रवालको पद खारेज गरिएको जानकारी किर्गिस्तानको सरकारलाई गरिएको जनाएको छ । चीफ अफ प्रोटोकल गेहेन्द्र राजभण्डारीले अग्रवालको पद खारेज गरिएको र यस बारेको जानकारी सम्बन्धित मुलुकलाई कूटनीतिक माध्यमबाट गराइएको बताउनुभएको छ ।
शङ्कर ग्रुपका सञ्चालक रहेका अग्रवाललाई उनले प्रयोग गर्ने २०९ एचसीसी नम्बरको कूटनीतिक नियोगको नम्बर प्लेट राखिएको पजेरो गाडी र त्यसको डिकीमा राखिएको ६७ थान थर्मल गनसहित पक्राउ गरिएको प्रहरीले बताएको थियो ।
अग्रवालको कालो धन्दापछि बुधवार साँझ एक विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले नेपालमा रहेका सबै अवैतनिक वाणिज्य दूतहरूलाई उपलब्ध गराइएका केही विशेष सुविधा खोसिएको जनाएको थियो ।
उनीहरूलाई दिइएको नीलो नम्बर प्लेट र सवारी साधनमा राष्ट्रिय झण्डा प्रयोग गर्न दिने विगतको निर्णय अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको परराष्ट्र मन्त्रालयले बताएको थियो ।