राजनीति

राजस्व चुहावट, छली, ठगी, तस्करी विरुद्ध सरकार निर्मतापूर्वक अघि बढ्ने : गृहमन्त्री लामिछाने

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले राजस्व चुहावट, छली, ठगी, तस्करी जस्ता गैरकानुनी गतिविधि गर्ने विरुद्ध सरकार निर्मतापूर्वक अघि बढ्ने बताउनुभएको छ ।

गृहमन्त्री लामिछाने

गृह र अर्थ मन्त्रालयद्वारा वीरगञ्जमा बिहीबार आयोजित राजस्व अभिवृद्धि तथा चुहावट नियन्त्रणसम्बन्धी गोष्ठीलाई सम्बोधन गर्दै उहाँले अवैध आर्थिक गतिविधि गर्ने कसैलाई पनि नछाड्ने बताउनुभएको छ ।

गृहमन्त्री लामिछानेले बिलविजकको विषयमा सरकारले गम्भीरतापूर्वक लिने बताउनुभएको छ । ‘‘अन्डरबिलिङ, गलत बिलिङको जुन समस्या देखिएको छ । त्यसलाई पूर्ण रुपमा नियन्त्रण गर्ने कदम चाल्ने रणनीतिसहित अघि बढ्नेछौँ’’, उहाँले भन्नुभयो, ‘‘बिल नबनाउने, गलत बिल बनाउने । एउटा सामान ल्याउँदा अर्काे समानको बिल गराउने कार्यलाई गम्भीरतापूर्वक लिनेछौँ ।’’

गृहमन्त्री लामिछानेले राजस्व सङ्कलनमा देखिएका चुनौतीलाई समाधान गर्नका निमित्त सक्रिय भएर सरकार लागि परेको बताउनुभएको छ । ‘‘बजारमा छयाप्पछयाप्ती अखाद्य वस्तुहरु छन् । किसानले उत्पादन गरेका दूध फालिने अवस्था सृजना भएको छ । आफ्नै उत्पादनले बजार पाइरहेका छैनन् । यो कुरा देखेर पनि प्रशासनले वास्ता गरेका छैनन् भने यो कुरामा हामीलाई कुनै पनि हालतमा सह्य हुँदैन’’, उहाँले भन्नुभयो, ‘‘म आफैँले पनि राम्रो काम गर्न सकिन भने प्रधानमन्त्रीले मलाई पनि माया गरेर राख्नुहुन्न । यो कुरा मलाई मात्रै होइन, सबैलाई लागू हुन्छ ।’’

गृहमन्त्री लामिछानेले बजारमा प्रतिबन्धित वस्तुहरु पर्याप्त मात्रामा भइरहेको प्रति असन्तुष्टि जनाउँदै सो प्रतिबन्धित आयातलाई नियन्त्रण गर्नेतर्फ अग्रसर हुन सबै सरोकारवाला निकायलाई निर्र्देशन दिनुभएको छ । ‘‘यसअघि पनि सरकारले आयात प्रतिबन्ध लगाएका वस्तु तथा सेवा बजारमा छ्याप्पछयाप्ती देखिरहेको छ । जुन बजारमा प्रतिबन्धित सामग्री छयाप्पछयाप्ती पाइन्छ । यो क्षेत्रमा जिम्मेवारी लिएर बसेका प्रशासनिक तथा प्रहरी अधिकृत पनि निरन्तर रहिरहन सक्दैनन् । त्यसैले त्यस्ता खालका विकृति र विसङ्गति अन्त्य गर्नका लागि आवश्यक काम गरिहाल्नुस् ।’’

गृहमन्त्री लामिछानेले अवैध तस्करी तथा भन्सार छलीका गतिविधिलाई कडिकडाउ ढङ्गले नियन्त्रण गर्न सुरक्षा निकाय तथा अन्य प्रशासनिक निकायलाई निर्देश गर्नुभएको छ । ‘‘उद्योगी÷व्यवसायीको व्यवसायलाई सुरक्षा र सुरक्षित गर्ने काम हाम्रो हो । त्यसमा कुनै पनि चिन्ता नलिनुस् । तपाईहरुलाई कसैले पनि विभिन्न डर, धम्की र दबाब दिन सक्दैन । त्यसको ग्यारेन्टी म लिन्छु’’, उहाँले भन्नुभयो, ‘‘म वीरगञ्जमा उभिएर बहालवाला गृहमन्त्रीको हैसियतले भनिरहेको छु । नियम कानुनको अधिनमा रहँदा तपाईहरुलाई कसैले दबाब सृजना गर्न सक्दैन । न त यहाँ गुण्डागर्दी चल्छ । न त यहाँ हप्तागिरी चल्छ । न त प्रशासनकै चल्छ । न त अमुक मान्छेकै चल्छ । बस यहाँ केबल चल्छ त कानुनीराज र विधिको शासन मात्रै चल्छ ।’’

गृहमन्त्री लामिछानेले उद्योगी/व्यवसायीलाई ढुक्क भएर उद्योगधन्दा तथा व्यापार गर्ने वातावरणको व्यवस्था गर्ने बताउनुभएको छ । ‘‘ संविधान, ऐन कानुनअनुसार चलेका उद्योगी/व्यवसायीलाई सरकारले संरक्षण र सुरक्षा दुवै प्रदान गर्छ’’, उहाँले भन्नुभयो, ‘‘कानुन र विधिको शासन कार्यान्वयन नगर्ने जिम्मेवार निकायलाई पनि त्यसै छाड्दैनौँ ।’’ उहाँले कानुन र विधिअनुसार चलेका उद्योग व्यवसायलाई संरक्षण र सुरक्षा प्रदान गर्ने पनि प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

‘‘अब हाम्रो मुख्य प्रथामिकता भनेको नै समाजमा रहेको विकृति विसङ्गतिको अन्त्य गर्ने हो’’, उहाँले भन्नुभयो, ‘‘यदि हामी आएर पनि राम्रा काम गर्न सकिएन भने हामीले समाजलाई दिन खोजेको शान्ति, स्ुरक्षा र समाजलाई दिन खोजेको योगदान दिन सक्दैन । त्यसैले कानुनीराज स्थापित गर्नेतर्फ सबै सक्रिय भएर लागौँ ।’’ गृहमन्त्री लामिछानेले मधेस प्रदेशबाट नै मुलुकमा नियम कानुन र थिति बसाल्ने कामको सुरुवात थालेको दाबी गर्नुभयो । ‘‘अब मधेस प्रदेशमा गुण्डागर्दी र लागू औषधको तस्करी नियन्त्रण गर्दै आर्थिक नगरीको रुपमा थिति बसाल्ने छौँ ।’’

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.