सरकारले भोटेकोशीमा आएको भीषण बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लालाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले बाढीबाट प्रभावित तीन जिल्लामा उद्धार, राहत, पुनःस्थापना तथा पुनर्निर्माणका कार्यलाई प्रभावकारी रूपमा अघि बढाउन विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो।
सरकारका अनुसार संकटग्रस्त क्षेत्र घोषणा भएसँगै प्रभावित जिल्लामा आवश्यक जनशक्ति, स्रोत–साधन र बजेट परिचालन गरी खोज तथा उद्धार, राहत वितरण, अस्थायी आवास, स्वास्थ्य सेवा, पूर्वाधार पुनःस्थापना तथा अन्य अत्यावश्यक सेवा सञ्चालनलाई तीव्रता दिइनेछ।
मन्त्रिपरिषद्ले सबै मन्त्रालयलाई आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित आवश्यक स्रोत, जनशक्ति र सामग्री तत्काल परिचालन गर्न निर्देशन दिएको छ।
साथै सम्बन्धित मन्त्रालयका मन्त्री तथा उच्च अधिकारीलाई प्रभावित क्षेत्रमा पुगेर उद्धार, राहत र पुनःस्थापनाका कार्यको समन्वय र अनुगमन गर्नसमेत आग्रह गरिएको छ।
सरकारले बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण संकलन, बेपत्ताको खोजी, घाइतेको उपचार तथा अत्यावश्यक सेवा पुनःसञ्चालनलाई उच्च प्राथमिकतामा राखेर काम अघि बढाउने जनाएको छ।




प्रतिक्रिया राख्नुहोस्