‘लमजुङको साहित्य विकासमा राष्ट्रकवि घिमिरेको महत्वपूर्ण योगदान छ’
लोक साहित्यको उद्गमस्थल लमजुङको साहित्य क्षेत्रको विकासमा राष्ट्रकवि माधवप्रसाद घिमिरेको महत्वपूर्ण योगदान रहेको बताइएको छ ।
मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानको २८औँ स्थापना दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रमका वक्ताहरुले सो कुरा उल्लेख गरेका हुन् ।
कार्यक्रममा वरिष्ठ कवि भुवनहरि सिग्देलले लमजुङ भाषा, साहित्य, संस्कृति र कलाको केन्द्र भएको बताउनुभयो । उहाँले वालुन, भजन, चुड्का, घाँटु, सोरठीलगायत विविध पक्ष लमजुङमा रहेको उल्लेख गर्नुभयो ।
वरिष्ठ कवि सिग्देलले राष्ट्रकविद्वारा सिञ्चित साहित्यिक संस्थासँग आफू जोडिन पाएकोमा खुशी व्यक्त गर्नुभयो । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले लमजुङको साहित्य क्षेत्रको विकासका लागि मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानले खेलेको भूमिका सराहनीय रहेको उल्लेख गर्नुभयो ।
नेपाल सरकारका पूर्वसचिव डा किरण रेग्मीले लमजुङको भाषा, कला, साहित्य, संस्कृति एवं ज्ञान विज्ञानको उन्नयनमा प्रतिष्ठानले खेलेको भूमिका सकारात्मक रहेको बताउनुभयो ।
प्रतिष्ठानका उपाध्यक्ष भाग्यशाली अधिकारीले लमजुङको पहिचानका रूपमा रहेको मौलिकपनलाई जोगाउन प्रतिष्ठानले काम गरिरहेको उल्लेख गर्नुभयो ।
विसं २०५३ मा स्थापना भएको प्रतिष्ठानले रु एक लाख राशिको ‘राष्ट्रकवि माधव घिमिरे पुरस्कार’ स्थापना गरी नेपाली साहित्य क्षेत्रमा विशेष योगदान दिएका व्यक्तिलाई सम्मान गर्दै आइरहेको प्रतिष्ठानका अध्यक्ष विजयराज न्यौपानेले जानकारी दिनुभयो ।
प्रतिष्ठानले २८औँ स्थापना दिवसका अवसरमा ९३ वर्षीय छविलाल पौडेल, साहित्यकार चन्द्रवदना घिमिरे, प्रा डा नन्दप्रसाद श्रेष्ठ, डा दीपबहादुर कार्की र नेत्रप्रसाद अधिकारीलाई सम्मान गरेको थियो ।




प्रतिक्रिया राख्नुहोस्