कसैले कसैलाई निषेध गरेर जाने सोचको आयु समाप्त भैसक्यो
पूर्व राजा ज्ञानेन्द्र वीर विक्रम शाहले नयाँ वर्ष २०७७ को अवसरमा शुभकामना सन्देश दिनुहुँदै विश्वव्यापी महामारीका रुपमा फैलिइरहेको कोरोना भाइरस संक्रणबाट नेपाललाई बचाउन सबै नेपाली एकजुट भएर लाग्नुपर्ने बताउँदै एकले अर्कोलाई निषेध गरेर जाने सोचको अन्त्य आवश्यक रहेको बताउनुभएको छ ।

सन्देशमा उहाँले कोरोना भाइरसको विश्वव्यापी महामारीबाट देशको विभिन्न भूभागमा र विश्वका विभिन्न देशमा रहे बसेका सबै नेपाली आक्रान्त, सन्त्रस्त र समस्याग्रस्त रहेको स्थितिमा देश र आफूलाई सुरक्षीत राख्न र बचाउ गर्दै हामी सबैले सजगता अपनाउनु पर्ने सुझाव पनि दिनुभएको छ ।
सन्देशको पूर्णपाठ यस्तो छ-
मानव सभ्यताको अनपेक्षित चुनाैतिहरुकाे सामना गरिरहनु परेकाे कष्टकर परिस्थितिका माझ, नयाँ वर्ष २०७७ काे आगमन भएको छ । नयाँ वर्ष प्रारम्भकाे यस सन्दर्भमा हामी नेपाल भित्र र बाहिर रहे बसेका सबै नेपालीहरुमा सुख शान्ति तथा सम्मुन्नतिकाे मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
काेराेना भाइरसकाे विश्वव्यापी महामारीबाट देशको विभिन्न भूभागमा र विश्वका विभिन्न देशमा रहे बसेका सबै नेपाली आक्रान्त,सन्त्रस्त र समस्याग्रस्त छन् । यस्तो स्थितिमा देश र आफूलाई सुरक्षीत राख्न र बचाउ गर्दै हामी सबैले सजगता अपनाउनु पर्दछ। नेपाली जनता खुशी र सुखी रहून् एवम् देशको शिर सधैं सगरमाथा झैं उच्च रहाेस् भन्ने नै हाम्रो अटल चाहना थियो, छ र रहनेछ।
आफूलाई गाैण बनाएर देशको सर्वाेच्चताकाे रक्षार्थ राष्ट्र र नेपाली जनताप्रति पर्नसक्ने विभिन्न समयका खतराहरु टार्न हामीले हरसम्भव प्रयास गरेको सर्वविदित नै छ । मानव स्वास्थ्यलाई एकै शताब्दीमा सबैभन्दा ठूलो खतरा सामना गर्नुपरेको बेलामा नेपालीहरुले शान्त र सामुहिक रूपले राष्ट्रव्यापी रक्षाकाे पर्खाल कार्यान्वयन गरेका छन् । तर विद्यमान संकटबाट मुक्ति पाउन र भविष्यमा उत्तपन्न हुने अस्वभाविक चुनाैतिहरुकाे सामना गर्न हामी बीचको एकता अपरिहार्य हुन पुगेको छ । कसैले कसैलाई निषेध गरेर जाने साेचकाे आयु समाप्त भएको धरातलीय यथार्थलाई आत्म स्वीकार गर्दै राष्ट्रिय भाव र एकता प्रवलिकरणकाे मार्ग स्पष्ट गर्न अब पनि सकेनौं भने इतिहासमा अर्कोतिर एउटा महाभूल हुने हामीले ठानेका छाैं ।
हाम्रा पुर्खाले अनादीकाल देखि अवलम्बन गर्दै आएको वैदिक सनातन दर्शन, धर्म संस्कृति, परम्परा तथा जीवन पद्धति नै सर्वश्रेष्ठ र बैज्ञानिक भएको महशुस अहिले विश्व जगतले स्विकार्दै रहेको छ। हाम्रा माैलिक सनातनिक सभ्यताको पुनर्जागरण, वर्तमानको अनिवार्य चाहना र आवश्यकता बनिरहेको छ । यही जगमा उभि हाम्रो समाजकाे व्यवस्था, अर्थ व्यवस्था र शिक्षाको जगाधर बलियाे तुल्याउन राष्ट्रिय प्रतिबद्धता हामीले लिनु पर्ने भइसकेको छ।
मानवीय वा प्राकृतिक विपत्तिकाे अन्त्य गर्दै नूतन इतिहास रच्ने सफलता हामी सबै नेपालीलाई नयाँ वर्षमा प्राप्त हाेस्।
श्री पशुपतिनाथले विश्वमानव जगतको कल्याण गरून् ।। जय नेपाल ।।
२०७७ साल बैशाख १ गते साेमबार।।
प्रतिक्रिया राख्नुहोस्