नयाँ वर्षको पहिलो दिन कैलालीमा ६५ वर्षीया वृद्धामा कोरोना संक्रमण भएको पुष्टि
नयाँ वर्षको पहिलो दिन कैलालीमा एक ६५ वर्षीया बृद्धामा कोरोना भाइरसको संक्रमण भेटिएको छ । कैलालीको लम्की चुहान निवासी ती महिलालाई कोरोना संक्रमण भएको कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी बताए पनि स्वास्थ्य मन्त्रालयले भने आधिकारिक रुपमा पुष्टि गरिसकेको छैन ।

यद्यपि स्वास्थ्य मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले कैलालीमा एक महिलालाई कोरोनाको संक्रमण देखिएको जानकारी दिनुभयो । सचिव कोइरालाले भन्नुभयो ‘कैलालीकी ६५ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ, पुन परीक्षण गर्दा पनि संक्रमण पाइएपछि उहाँलाई आइसोलेसनमा राखिएको छ’,
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा सोमवार दिउँसो गरिएको पुन परीक्षणको नतिजा पनि पोजेटिभ आएको थियो । यीसँगै सुदूरपश्चिममा संक्रमितको संख्या पँच पुगेको छ । धनगढीका तीन र कञ्चनपुरका एक संक्रमितको पनि यही अस्पतालमा उपचार भइरहेको छ ।
समाचार अनुसार वीरगञ्ज नाकामा चिया पसल गर्ने उनी लकडाउनका कारण समस्यामा परेपछि १७ चैतमा लम्की आएकी थिइन् । मजदुरहरु समस्यामा परेको थाहा पाएपछि प्रशासनले समन्वय गरेर कैलाली पठाएको थियो । उनीहरूलाई स्थानीय जनप्रतिनिधिले लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखेको थियो ।
त्यहाँ बसेकाहरुको र्यापिड डायग्नोस्टिक टेष्ट किटबाट परीक्षण गरिएको थियो । रिपोर्ट नेगेभिट आएपछि सबैलाई २८ चैतमा घर पठाइएको थियो ।संक्रमित देखिएकी महिला पनि भुरुवास्थित आफन्तकहाँ गएकी थिइन् ।
तर पीसीआर विधिबाट काठमाडौंमा गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ । उनलाई सेती प्रादेशिक अस्पताल, धनगढीमा लगेर भर्ना गरिएको छ ।
प्रतिक्रिया राख्नुहोस्