ट्रम्पसँगको भेट अस्वीकार गरेपछि किमद्वारा ‘सार्वभौमिकता’मा जोड
उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो देशले सार्वभौमिकताको रक्षा गर्दै वैदेशिक सम्बन्ध विस्तार गर्ने बताउनुभएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेटवार्ताका लागि गरेको प्रयास असफल भएको केही दिनपछि उहाँको यस्तो भनाइ आएको हो।
उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले सोमबार जनाएअनुसार किमले नवनियुक्त राजदूतहरूबाट ओहोदाको प्रमाणपत्र ग्रहण गर्ने क्रममा यस्तो धारणा व्यक्त गर्नुभएको हो।
प्रमाणपत्र ग्रहण गर्ने कार्यक्रममा रुसी राजदूत पनि सहभागी थिए। परम्परागत रूपमा यस्तो कार्य राष्ट्रप्रमुखले नभई वरिष्ठ सरकारी अधिकारीले गर्ने गरेकामा किम स्वयं उपस्थित हुनुलाई असामान्य मानिएको छ।
सरकारी समाचार संस्था कोरियन सेन्ट्रल न्युज एजेन्सीका अनुसार किमले राष्ट्रिय सार्वभौमिकता र सुरक्षाको रक्षा गर्ने सिद्धान्तका आधारमा स्वतन्त्रता, शान्ति र मैत्रीका आदर्शअनुरूप वैदेशिक सम्बन्ध विस्तार तथा विकास गर्नु प्योङयाङको कूटनीतिक लक्ष्य रहेको बताउनुभयो।
गत साता एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका लागि चीन भ्रमणमा रहनुभएका अमेरिकी राष्ट्रपति ट्रम्पले किमसँग भेटवार्ताको प्रयास गर्नुभएको थियो।
तर, उहाँको प्रयास सफल हुन सकेन। चिनियाँ र रुसी राष्ट्रपतिसँग महत्त्वपूर्ण शिखर बैठक गरेपछि ट्रम्प बिहीबार किमसँग भेट नगरी एसिया भ्रमण पूरा गरेर फर्कनुभएको थियो। यसअघि ट्रम्पले किमसँग भेट हुन सक्ने सङ्केत गर्नुभएको थियो।
किमले कार्यक्रममा विश्वभर अस्थिर सुरक्षा सङ्कट तथा राजनीतिक र आर्थिक अव्यवस्था देखिएको बताउनुभयो। उहाँले भन्नुभयो, “वर्तमान अन्तर्राष्ट्रिय परिस्थितिले राष्ट्रिय सार्वभौमिकता र सुरक्षासम्बन्धी हाम्रो बुझाइमा महत्त्वपूर्ण परिवर्तन ल्याइरहेको छ।”
उत्तर कोरियाले प्रभुत्व वा विस्तारवादको नीति नअपनाएको पनि उहाँले बताउनुभयो। उहाँले आफ्नो देशको आधिकारिक नाम डेमोक्रेटिक पिपुल्स रिपब्लिक अफ कोरियाको छोटकरी नाम प्रयोग गर्दै यस्तो धारणा राख्नुभएको हो।
कोरियन सेन्ट्रल न्युज एजेन्सीले सार्वजनिक गरेका तस्बिरमा औपचारिक पोसाक र टाईमा देखिनुभएका किमले राजदूतहरूबाट ओहोदाको प्रमाणपत्र ग्रहण गरिरहेको देखिन्छ।
परराष्ट्रमन्त्री चोए सोन हुई पनि उहाँसँगै उपस्थित हुनुहुन्थ्यो। तस्बिरमा किमले राजदूतहरूसँग छुट्टाछुट्टै तस्बिर खिचाउँदै मन्तव्य व्यक्त गर्नुभएको देखाइएको छ।
अमेरिकी राष्ट्रपति ट्रम्पको भेट प्रस्तावलाई बेवास्ता गर्दै किमले राजदूतहरूलाई स्वागत गर्नु उत्तर कोरियाको कूटनीतिक दृष्टिकोणमा आएको परिवर्तनको सङ्केत भएको दक्षिण कोरियाको क्युङनाम विश्वविद्यालयअन्तर्गत सुदूरपूर्व अध्ययन संस्थानका प्राध्यापक लिम उल चुलले एएफपीलाई बताउनुभयो।
उहाँका अनुसार ट्रम्पको कूटनीतिक पहलप्रति कुनै चासो नदेखाई विभिन्न देशका राजदूतलाई स्वागत गरेर उत्तर कोरियाले ‘बहुध्रुवीय र सार्वभौमिकतामा आधारित कूटनीति’तर्फ अघि बढ्ने सङ्केत गरेको छ। यसले सार्वभौम राष्ट्रको नेतृत्वकर्ताका रूपमा बदलिँदो अन्तर्राष्ट्रिय व्यवस्थालाई सक्रिय रूपमा आकार दिन किम इच्छुक रहेको पनि देखाउने उहाँले बताउनुभयो।
ट्रम्प अमेरिकी राष्ट्रपतिको पहिलो कार्यकालमा रहँदा किमसँग भएका शिखर बैठकहरूको उद्देश्य उत्तर कोरियाको आणविक कार्यक्रम नियन्त्रण गर्नु थियो। तर, ती बैठकबाट कुनै ठोस सहमति हुन सकेन।
संयुक्त राष्ट्रसङ्घले वर्षौँदेखि प्रतिबन्ध लगाउँदै आए पनि उत्तर कोरियाले आणविक कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ। उसले आफ्नो आणविक हैसियतलाई कानुनमै समेट्नुका साथै आणविक हतियार भण्डार स्थायी र अपरिवर्तनीय रहेको घोषणा गरेको छ।
युक्रेनविरुद्धको युद्धमा रुसलाई सघाउन आफ्ना सैनिकसमेत परिचालन गरेपछि उत्तर कोरियाले मस्कोसँगको सम्बन्धलाई थप सुदृढ बनाएको छ। (एएफपी)




प्रतिक्रिया राख्नुहोस्