विश्व समाचार

खाद्य बजारमा जीवित जङ्गली जीवजन्तुको बेचबिखन रोक्न डब्लुएचओको आग्रह

चीनको उहानमा भेटिएका कोभिड–१९ संक्रमितहरुको सम्बन्ध स्थानीय परम्परागत खाद्य बजारसँग देखिएको भन्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नयाँ नयाँ किसिमका रोगहरुको उत्पत्ति रोक्न खाद्य बजारमा जीवित जङ्गली जीवजन्तुको बेचबिखन रोक्न मङ्गलबार आग्रह गरेको छ ।

डब्लुएचओले ठूलो जनसंख्यालाई खाद्य तथा जीविकोपार्जन जुटाउन परम्परागत बजारले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको भए पनि जीवित जङ्गली जीवजन्तुको बेचबिखन रोक्न सकिए बजारमा काम गर्ने कामदार र ग्राहकको स्वास्थ्य सुरक्षित तुल्याउन सघाउने बताएको छ ।

यो अन्तरिम निर्देशिका विश्व जीव स्वास्थ्य संगठन (ओआइइ) र राष्ट्रसंघीय वातावरण कार्यक्रम (युनेप) को सहकार्यमा निर्माण गरिएको हो । शुरुआती दिनमा भेटिएका संक्रमितहरु खाद्य स्टलका मालिकहरु, बजारका कामदारहरु वा बजारमा नियमित आउजाउ गर्नेहरु नै रहेको जनाएको छ ।

डब्लुएचओले जीवित जङ्गली स्तनधारी जीवजन्तुहरु खाद्य बजारमा ल्याएर बेचबिखन गर्नु वा राख्नु निकै हानिकारक हुने जनाएको छ । जीवित स्तनपायी जनावरलाई खाद्य बजारहरु खासगरी माछामासुको किनबेच हुने बजारमा नराख्न सदस्य मुलुकलाई आग्रह गरिएको डब्लुएचओले बताएको छ ।

डब्लुएचओले भनेको छ, “जनावरहरु, खास गरी जङ्गली जनावरहरुले मानिसमा देखा पर्ने नयाँ संक्रामक रोगहरु ल्याउन ७० प्रतिशतभन्दा बढी भूमिका खेल्ने गरेका छन् । जङ्गली जनावरहरु नयाँ किसिमका रोगहरुका मुख्य स्रोत नै हुन् ।”

डब्लुएचओले पर्याप्त जोखिम मूल्याङ्कन नगरी यस्ता जङ्गली स्तनपायी जनावर काटमार नगर्न, अन्य खाद्य पसलमा नराख्न र यस्ता जोखिमयुक्त बजारहरु तत्काल बन्द गराउन पनि सरकारहरुसँग आग्रह गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.