सरकारको उचाई बढाउने हिसाबले काम गर्न भूमि आयोगका पदाधिकारीलाई आग्रह
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले नवनियुक्त भूमि सम्बन्धी समस्या समाधान आयोगका पदाधिकारीहरुलाई सरकारको उचाई बढाउने हिसाबले काम गर्न आग्रह गर्नुभएको छ ।
सरकारले बुधबार देवी ज्ञवालीको अध्यक्षतामा भूमि सम्बन्धी समस्या समाधान आयोग गठन गरेको थियो । बुधबार मन्त्रालयमा आयोजित आयोगका पदाधिकारीको परिचयात्मक कार्यक्रममा मन्त्री अर्यालले सो निर्देशन दिनुभएको हो ।
आयोग गठनको मुख्य उद्देश्य भनेको लामो समयदेखि भूमिबाट बञ्चित रहदै आएका उत्पीडित वर्गको पक्षमा काम गर्नका लागि भएको भन्दै मन्त्री अर्यालले जुन वर्गका निम्ति यो आयोग गठन भएको हो, ती आधारभूत वर्गको हितका निम्ती काम गर्न आग्रह गर्दै आयोगका पदाधिकारीहरुलाई शुभकामना सहित आयोगको भूमिका निम्न वर्गहरुको हित पहिलो प्राथमिकता हुनुपर्छ भन्नुभयो ।
तीन वर्षको आयोगको कार्याअवधि रहेको भन्दै मन्त्री अर्यालले यसबीचमा पहिलो वर्ष, दोस्रो वर्ष र तेस्रो वर्ष के–के काम कसरी गर्ने भनेर योजना बनाएर अघि बढन पनि निर्देशन दिनुभयो । उहाँले ठाउँ अनुसार समस्या फरक फरक रहेको भन्दै कुन जिल्लामा बढी र कुन जिल्लामा कम समस्या भनेर छट्याएर कार्ययोजना बनाउदा हरेक एक वर्षमा के गर्ने भनेर योजना बनाउन निर्देशनन दिनुभयो ।
त्यस अवसरमा प्रतिवद्धता मन्तव्य राख्दै भूमि सम्बन्धी समस्या समाधान आयोगका नवनियुक्त अध्यक्ष देवी ज्ञवालीले मन्त्रालयले महत्वपूर्ण अभिभारा प्रदान गरेको भन्दै सरकारलाई धन्यवाद दिनुभयो । भूमि व्यवस्थापनका क्षेत्रमा यो नै अन्तिम आयोग रहने गरी काम अगाडि बढाइने अध्यक्ष ज्ञवालीले प्रतिवद्धता व्यक्त गर्नुभयो ।
त्यस अवसरमा मन्त्रालयका सचिव केदार न्यौपानेले वर्षौदेखि रहदैआएको भूमिहिन, सुकुम्बासीको समस्या समाधान गर्नका निम्ति आयोग र मन्त्रालय एक भएर काम गर्ने बताउनुभयो ।