तीन घण्टाकोबीचमा तीन संक्रमितको उपचारकै क्रममा मृत्यु

उपचाररतमध्ये चार दर्जनभन्दा बढी कोरोना संक्रमितको अवस्था गम्भीर रहेको जानकारी दिएको नेपालगञ्जस्थित भेरी अस्पतालमा आइतार एकएक घण्टाको फरकमा तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
जिल्ला संकट व्यवस्थापन समिति बाँकेका कोरोना स्रोत व्यक्ति तेज वलीले कोरोना विशेष वार्डमा उपचाररत तीन संक्रमितको तीन घण्टाको बीचमा मृत्यु भएको जानकारी दिनुभयो ।
उहाँका अनुसार भेरी अस्पतालमा उपचाररत राजापुर नगरपालिका–१ बर्दिया निवासी ७३ वर्षीय पुरुषको शनिबार बेलुका ७ बजे मृत्यु भएको थियो । त्यसको ठीक ४० मिनेटपछि बाँकेको बैजनाथ गाउँपालिका–८ निवासी ७८ वर्षीया महिलाको ज्यान गएको हो ।
शनिबार राति साढे ९ बजे नै दैलेखको नारायण नगरपालिका–१ की ६८ वर्षीया महिलाको पनि मृत्यु भएको भेरी अस्पताल स्रोतले बताएको छ । यससँगै बाँकेमा उपचारका लागि बाहिरी जिल्लाबाट आएर ज्यान गुमाउने कोरोना संक्रमितको संख्या ९६ पुगेको छ । कोरोना संक्रमणबाट बाँके जिल्ला निवासी ६० जनाले ज्यान गुमाएका छन् ।