जन सरोकार

सिसाघाटका कुमाल, जसले भिडेरै चितुवा नियन्त्रणमा लिन सफल भए

तनहुँको व्यास नगरपालिका–६ सिसाघाटका मदन कुमाल बुधबार बिहान गोठालो जाँदै हुनुहुन्थ्यो । घरबाट भैँसी र गोरु लिएर आउँदै गर्दा छिमेकी एक महिलाको आवाज सुनियो । दाई मलाई बचाउनु, चितुवाले आक्रमण गर्यो ।

मदन कुमाल दौडिँदै गएर हेर्दा ती महिलाको गोठमा चितुवा आएको रहेछ । भैँसीलाई आक्रमण गर्न नसकेपछि चितुवाले महिलामाथि आक्रमण गर्न खोज्दै थियो । कुमाल त्यहाँ पुग्ने बित्तिकै चितुवा कुमालमाथि नै जाइलाग्यो । चितुवामाथि एक्लै भिड्नुभएका कुमालले चितुवाको खुट्टा समात्न पुग्नुभयो, अनि लगत्तै टाउको पनि ।

दुई मिनेट जति चितुवासँग भिड्दै गर्दा हल्लाखल्ला भएपछि उहाँका भाइ भेषबहादुर पनि घटनास्थल आइपुग्नुभयो । कुमालले भाइसँग मिलेर चितुवालाई नियन्त्रणमा लिनुभयो ।

हल्लाखल्ला भएपछि गाउँले जम्मा हुन थाले । अन्य केही व्यक्तिको सहयोगमा चितुवालाई बाध्न सफल भइएको कुमालले बताउनुभयो । “शुरुमा चितुवा देख्ने वित्तिकै डर लाग्यो तर चितुवा आफैमाथि जाइलागेपछि आफू बच्नका लागि भए पनि प्रतिरोध गर्नुपर्ने अवस्था आइलाग्यो”, कुमालले भन्नुभयो, “करिब दुई मिनेट जति चितुवासँग घम्साघम्सी भयो ।”

कुमालका अनुसार चितुवा बुढो भएका कारण पनि नियन्त्रणमा लिन सहज भएको थियो । “चितुवा बुढो बुढो रहेछ, त्यसलाई बाँधेर राखेपछि प्रहरीलाई खबर ग¥यौ”, उहाँले भन्नुभयो ।

चितुवा नियन्त्रणमा आइसकेपछि चितुवा हेर्न स्थानीयवासीको भीड लागेको छ । डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले चितुवा नियन्त्रणमा लिइएकोबारे जानकारी आएकाले टोली त्यसतर्फ जान लागेको जानकारी दिनुभयो । “हामीलाई प्रहरीमार्फत जानकारी आएको छ, हाम्रो टोली त्यता जाँदैछ”, उहाँले भन्नुभयो ।

तनहुँमा केही समय यता चितुवाको आतङ्क छ । जङ्गलमा आहारा नभएपछि चितुवा मानववस्ती छेउ आउने गरेको छ । विगत दुई वर्षको अवधिमा तनहुँमा १० जना बालबालिकाले चितुवाको आक्रमणबाट ज्यान गुमाएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.