जन सरोकार

तुइनबाट खसेर बेपत्ता भण्डारीको शव भेटियो (अपडेट)

दार्चुलामा तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता भएका सिङ्दलसिंह भण्डारीको शव भेटिएको छ । शनिबार दिउँसो बेपत्ता भएका ४५ वर्षीय भण्डारीको शव महाकाली नदी पारी भारततर्फ फेला परेको हो ।

महाकाली पारी भारततर्फ रहेकी आमा जसोदा भण्डारीलाई लिन सिङ्दलसिंह तुइन चढेर भारततर्फ जाँदै थिए । उनकी आमा सामान लिएर भारतीय सडक प्रयोग गर्दै घर फर्किदै थिइन् । उनी सामान किनमेल गरी दार्चुला सदरमुकाम खलङगाबाट भारतीय भू–भाग धारचुला हुँदै घर फर्किदै गरेको ब्याँस गाउपालिका–२ का वडाध्यक्ष धीरनसिंह बुढाथोकीले जानकारी दिनुभयो । नेपालतर्फ सडक सुविधा नहुँदा जसोदा भारतीय सडक प्रयोग गर्दै घर फर्किदै थिइन ।

“जसोदाले समान लिन तुइन चढेर भारततर्फ आउन छोरा सिङ्दलसिंहलाई बोलाएकी जानकारीमा आएको छ’’, बुढाथोकीले भन्नुभयो– “तुइन प्रयोग गर्ने क्रममा उनी महाकालीमा बगेको आशंका गरिएको छ ।”

सिङ्दलसिंहको शव भारतीय भू–भागमा फेला परेकाले भारतीय सीमा सुरक्षा बलले कानुनी प्रक्रिया पूरा गरेर मात्र नेपालको जिम्मा लगाउने बताएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो । मृतक भण्डारीका घरमा दुई छोरा र एक छोरी रहेकी छिन् । उनकी श्रीमतीको भने चार वर्ष अघि निधन भएको बताइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.