भ्यूटावर बनाउनेदेखि नातागोतालाई जागीर नखुवाउने नेपाली कांग्रेसको प्रतिबद्धता
सत्ता गठबन्धनको नेतृत्वकर्ता नेपाली कांग्रेसले स्थानीय तह चुनावको ‘घोषणा पत्र’ (सङ्कल्प पत्र) सार्वजनिक गर्दै ‘नगर्ने काम नभन्ने, गर्ने कामलाई मात्रै प्राथमिकता’ मा राखेको जनाएको छ ।
उक्त घोषणा पत्रमा भ्युटावर नबनाउनेदेखि आफन्त र परिवारका सदस्यलाई सल्लाहकार, विज्ञ, कर्मचारी वा सहयोगी नियुक्त नगरिने प्रतिवद्धता उल्लेख छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त घोषणापत्र सार्वजनिक गर्नुभएको हो ।
कांग्रेसले महामन्त्री गगनकुमार थापाको संयोजकत्वका एक कार्यदल नै बनाएर घोषणापत्र तयारीको काम गरेको थियो ।
सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का तथा धनराज गुरुङ, महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्मालगायतले संयुक्तरुपमा घोषणापत्र सार्वजनिक गर्नुभएको हो । कांग्रेसले २०७४ सालदेखिको सरकारको काम कारवाहीको समीक्षासमेत गरेको छ ।
पार्टीको नीति र सिद्धान्त, सुशासनका मापदण्ड तथा जनप्रतिनिधिको उत्तरदायित्वलाई पूर्णरुपमा आत्मसात् गर्दै आफ्ना पार्टीका तर्फबाट स्थानीय सरकारको नेतृत्व गर्ने प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यले गर्ने केही महत्वपूर्ण कामका बारेमा समेत ‘कांग्रेसको सङ्कल्प’मा समेटिएको छ ।
जनताको करबाट उठेको राजस्वलाई भ्यूटावर, स्वागतद्वार जस्ता अनुत्पादक क्षेत्रमा लगानी नगर्ने, सरकारी सम्पत्तिको दुरुपयोग तथा प्राकृतिक स्रोत साधनको दोहन गर्न नदिने विषयलाई प्रमुख प्राथमिकतामा राखिएको छ ।
यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई केन्द्रमा राखेर आज उक्त सङ्कल्प सार्वजनिक गरिएको कांग्रेसले जनाएको छ ।





प्रतिक्रिया राख्नुहोस्