भारतमा एकै दिनमा तीन लाख ७९ हजार संक्रमित, राष्ट्रसंघले सघाउने घोषणा
भारतमा बुधबार एकै दिनमा तीन लाख ७९ हजार २५७ जना थप व्यक्तिमा कोरोना संक्रमण भयो । यो संख्या हालसम्मकै उच्च हो । योसंगै भारतमा अहिलेसम्ममा एक करोड ८३ लाख ७६ हजारभन्दा बढी व्यक्ति संक्रमित हुन पुगेका केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

यहाँ संक्रमणको कारण मृत्यु हुने व्यक्तिको संख्या २ लाख नाघेको छ । गएको २४ घण्टायता तीन हजार ६४५ जनाको कोरोना संक्रमणको कारण ज्यान गएपछि यस प्रकोपबाट मृत्यु हुनेको संख्या दुई लाख चार हजार ८३२ पुगेको सो मन्त्रालयले जनाएको छ ।
एकै दिनमा कोरोनाबाट ठूलो संख्यामा मृत्यु भएको यस वर्ष शुरु भएयताकै यो सब भन्दा धेरै भएको समाचारमा जनाइएको छ । एकै दिन तीन लाखभन्दा बढी कोरोना भाइरस संक्रमित भेटिएका यो आठौं दिन भएको बताइएको छ । कोरोना महामारी शुरु भएयता विश्वमा भएका संक्रमणको तुलनामा यो ठूलो संख्या भएको सरकारी तथ्याङ्कले जानकारी दिएको छ ।
भारतमा हाल ३० लाख ८४ हजारभन्दा बढी सक्रिय संक्रमित रहेका छन् । भारतमा हालसम्म एक करोड ५० लाख ८६ हजारभन्दा बढी कोरोना मुक्त भएका छन् । भारतमा गत जनवरी १६ देखि कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो सो समयबाट अहिलेसम्म १५ करोड भन्दा बढी व्यक्तिले खोप लगाएका छन् । कोरोना भाइरसको महामारी फैलिने क्रम एकातिर चलिरहेको छ, भने अर्कोतर्फ कोरोनाभाइरस विरुद्धको खोप चलाउने क्रम पनि चलिनै रहेको छ ।
भारतमा अहिले कोभिसिल्ड, कोभ्याक्सिन र स्पुट्निक भी गरी तीन प्रकारका खोपको प्रयोग भइरहेको सरकारी निकायले जनाएका छन् । रुसले विकास गरेको स्पुट्निक भी भने गत अप्रिल १२ देखि मात्रै लगाउन थालिएको अधिकारीले जानकारी दिएका छन् ।
भारतको राष्ट्रिय राजधानी दिल्ली सबभन्दा धेरै कोरोना प्रभावित राज्यका रुपमा रहेको छ । यहाँ हिजो एकैदिनमा २५ हजार ९८६ जना थप व्यक्ति कोरोना भाइरस संक्रमण देखिएको र ३६८ जनाको मृत्यु भएको छ । दिल्ली कोरोना शुरु भएदेखि हालसम्म यसको संक्रमणको कारण १५ हजार ३७७ व्यक्तिको मृत्यु भइसकेको छ ।
यसैबीच संयुक्त राष्ट्रंघले कोभिड १९ का विरुद्धमा लड्न भारतलाई सघाउने संघका प्रवक्ताले बुधबार जानकारी दिनुभएको छ । उहाँले दिएको जानकारीअनुसार कोभिड १९ को संक्रमणका कारण हाल भारतको अवस्था निकै जटिल भएकोले संयुक्त राष्ट्रंघले यसका विरुद्धमा भारतलाई सघाउने भएको हो ।
संयुक्त राष्ट्रंघका विशिष्ठ जनस्वास्थ्य विद्सहितको समूह हाल भारत पुगेको छ । साथै संयुक्त राष्ट्रंघले पनि आवश्यक औषधि तथा स्वास्थ्य उपकरणहरु भारतलाई सहयोग गरिरहेको जनाएको छ ।विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्रंघीय बालकोषले भारतका लागि अक्सिजनका लागि आवश्यक उपकरणहरु खरिद गरेर पठाएको बताएका छन् ।
त्यस्तै भारतका अस्पतालहरुमा आवश्यक भेन्टिलेटरहरु पनि पठाइएको संयुक्त राष्ट्रंघले जनाएको छ । यसका साथै विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्रंघीय विभिन्न निकायले भारतलाई पिपिइ, पिसिआर परीक्षण गर्ने मेसिनका साथै अरु उपकहरणहरु पनि पठाएको जनाएका छन् ।
भारतको सबैभन्दा बढी प्रभावित रहेको राज्य महाराष्ट्रका लागि विश्व स्वास्थ्य संगठनले २ हजार ६०० भन्दा बढी स्वास्थ्यकर्मी, चिकित्सकहरु तथा अन्य अधिकारीहरु पठाएको जनाएको छ । ती जनशक्तिको माध्यमबाट विशेष गरी महाराष्ट्रमा घुम्ती अस्पतालहरु राखिएका छन् ।
ती अस्पतालहरुमा पिसिआर परीक्षणका साथै आवश्यक स्वास्थय उपचार पनि उपलब्ध गराइएको बताइएको छ । भारतमा हाल कोभिडको अवस्था निकै तिब्र गतिमा बृद्धि भएको छ । यहाँ दिनहुँ लाखौँ जना नागरिक कोभिडबाट संक्रमित हुने गरेका छन् भने कम्तीमा पनि दुई हजार जना मानिस यही संक्रमणबाट नै मृत्यु हुने गरेका छन् ।
प्रतिक्रिया राख्नुहोस्