आईसीसी विश्वकप लिग-२ मा नेपाल र ओमानको खेलमा नेपालले पहिले बलिङ गर्ने भएको छ । ओमानले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेसंगै नेपाल पहिले बलिङ गर्ने भएको हो ।
सिरिजमा नेपाल, यूएई र ओमानको सहभागिता रहेको छ । नेपाल रोहित पौडेल र ओमान जतिन्दर सिंहको कप्तानीमा मैदान उत्रदै छ । आज नेपाल घरेलु मैदानको फाइदा उठाउँदै जित निकाल्दै सिरिजमा लगातार दोस्रो जितको योजनामा रहेको छ भने उता ओमान पनि नेपाललाई उसकै मैदानमा पराजित गर्दै सिरिजमा पहिलो जित निकाल्ने योजनामा रहेको छ ।
गत शनिबार भएको पहिलो खेलमा नेपालले यूएईलाई ३७ रनले पराजित गरेको थियो भने सोमबार भएको खेलमा ओमान यूएईसँग २५ रनले पराजित भएको थियो । यस सिरिजमा तीन देशले एक अर्काविरुद्ध समान दुई-दुई खेल खेल्नेछन् । आज नेपाल र ओमानले तेस्रो खेल खेल्दा मे १ मा नेपाल र युएईले, मे ३ मा ओमान र युएईले तथा मे ५ मा नेपाल र ओमानले खेल्ने तालिका रहेको छ ।
नेपाल २१ खेलमा ६ जित, १३ हार र २ खेलको नतिजाविहिन हुँदा १४ अंक जोड्दै सातौं स्थानमा छ भने २५ खेल खेलेको ओमान भने १३ जित, ९ हार र ३ खेलको नतिजा नआउँदा २९ अंक जोड्दै तेस्रो स्थानमा रहेको छ । नेपाली टोलीमा एक परिवर्तन गरिएको छ । ललित राजवंशीको स्थानमा गुल्सन झालाई राखिएको छ ।
नेपालको प्लेइङ ११ मा रोहित पौडेल(कप्तान), आशिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, भिम सार्की, आरिफ शेख, दिपेन्द्रसिह ऎरी, सोमपाल काम , गुल्शन झा, करण केसी, सन्दीप लामिछाने र बसिर अहमद रहेका छन् ।





प्रतिक्रिया राख्नुहोस्