भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) मा पञ्जाब किंग्सको अपराजित यात्रामा पूर्णविराम लागेको छ । मंगलबार राति भएको खेलमा राजस्थान रोयल्ससँग ६ विकेटले पराजित भएसँगै पञ्जाबले जारी सिजनको पहिलो हार व्यहोरेको हो ।
भारतको नयाँ चन्डीगढस्थित न्यु इन्टरनेसनल क्रिकेट स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पञ्जाब किंग्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय २२ रन बनाएको थियो । पञ्जाब किंग्सका लागि मार्कस स्टोइनिसले २२ बलमा ४ चौका र ६ छक्का प्रहार गर्दै अविजित रहँदै ६२ रनको अर्धशतकीय पारी खेले भने प्रभसिमरन सिंहले ४४ बलमा ६ चौका र १ छक्काको सहयोगमा ५९ रनको अर्धशतकीय इनिङ खेले ।
त्यस्तै कप्तान श्रेयस अय्यर र कुपर कोनोलीले समान ३०-३० रन बनाए । राजस्थानका लागि यशराज पुन्जाले दुई विकेट लिए भने तथा जोफ्रा आर्चर र नान्ड्रे बर्गरको भागमा समान एक-एक विकेट रह्यो । पञ्जाबले दिएको २ सय २३ रनको लक्ष्य राजस्थान रोयल्सले १९.२ ओभरमा ४ विकेट गुमाएर पूरा हो ।
राजस्थानका लागि डोनोभान फेरेरा २६ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै अविजित रहँदै ५२ रनको अर्धशतकीय पारी खेले भने यशस्वी जैसवालले २७ बलमा ७ चौका र १ छक्काको सहयोगमा ५१ रनको अर्धशतकीय इनिङ खेले । यस्तै वैभव सूर्यवंशीले १६ बलमा ३ चौका र ५ छक्का प्रहार गर्दै ४३ रन जोड्दा शुभम् दुबे ३१ रनमा अविजित रहे । यस्तै कप्तान रियान परागले २९ रन जोड्दा ध्रुर्व जुरेलले १६ रन बनाए । पञ्जाबका लागि युजवेन्द्र चहलले तीन विकेट लिए भने अर्शदीप सिंहको भागमा एक विकेट रह्यो ।
जितसँगै राजस्थान नौ खेलमा १२ अंकका जोड्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने आठ खेलमा १३ अंक जोडेको पञ्जाब शीर्ष स्थानमा यथावत छ । प्रतियोगिता अन्तर्गत आज राति नेपाली समयानुसार पौने आठ बजे मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबाद भिड्दै छन् ।





प्रतिक्रिया राख्नुहोस्