मृत्यु दर्ता प्रमाणपत्र नभएपछि एक भारतीय पुरुषले शव उत्खनन गरी पैसा निकाल्न बैंक पुर्याए
एक भारतीय पुरुषले आफ्नी दिदीको मृत्युको प्रमाणपत्र नभएका कारण बैंक खातामा पहुँच नपाएपछि, दिदीको शव नै खनेर निकालेर बैंक पुर्याएका छन्। बैंकले मृत्युको प्रमाण माग गरेपछि उनले यस्तो कदम चालेको बैंकले जनाएको छ।
पूर्वी राज्य ओडिशाका संवैधानिक रूपमा मान्यता प्राप्त आदिवासी समुदायका जितु मुण्डा सोमबार आफ्नी मृतक दिदीको खाताबाट पैसा निकाल्न इन्डियन ओभरसिज बैंकको शाखामा गएका थिए।
तर, बैंकका कर्मचारीहरूले उनलाई “उचित अनुमति बिना तेस्रो पक्षले रकम झिक्न अनुमति नदिइने” जानकारी गराएका थिए। मृत्यु दर्ता प्रमाणपत्र नभएका कारण बैंकले फर्काइदिएपछि आक्रोशित बनेका मुण्डा, केही दिनअघि गाडिएकी आफ्नी दिदीको “अवशेष” बोकेर बैंक फर्किएका थिए।
टेलिभिजन नेटवर्कहरूले मुण्डाले प्लास्टिकमा बेरिएको शव जस्तो देखिने वस्तु आफ्नो काँधमा बोकेको भिडियो प्रसारण गरेका छन्, जसमा कंकालका खुट्टाहरू स्पष्ट देखिएका थिए।
बैंकले यो घटना “चेतनाको अभाव” र प्रक्रियाहरू पालना गर्न व्यक्तिको अनिच्छाका कारण घटेको बताएको छ । बैंकले भनेको छ, “बैंक परिसरमा निकै कष्टप्रद र तनावपूर्ण स्थिति सिर्जना गर्यो ।”
बैंकले थप प्रस्ट पार्दै भनेको छ, “मृत्यु दर्ता प्रमाणपत्र बुझाएपछि दाबीलाई प्राथमिकताका साथ फर्स्यौट गरिनेछ ।” भारतमा जन्म र मृत्यु दर्ता अनिवार्य छ। तर, विशेष गरी ग्रामीण भेगहरूमा कागजी प्रक्रियामा अझै पनि धेरै समस्याहरू छन्, जसका कारण धेरै परिवारहरू औपचारिक प्रमाणपत्र पाउनबाट वञ्चित हुने गरेका छन्।





प्रतिक्रिया राख्नुहोस्