राजनीति

एमालेलाई नयाँ सिराबाट पुनर्गठित गर्ने उपाध्यक्ष पौडेलको दावी

नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले २१ फागुनमा सम्पन्न निर्वाचनमा पार्टीले बेहोर्नुपरेको नतिजालाई गम्भीर धक्काका रूपमा स्वीकार गर्दै पार्टीलाई नयाँ सिराबाट पुनर्गठित गर्ने दावी गर्नुभएको छ ।

बुधबार ‘२७औँ यदु स्मृति दिवस तथा २४औँ यदु स्मृति पत्रकारिता पुरस्कार वितरण’ कार्यक्रममा बोल्दै उपाध्यक्ष पौडेलले विगत १० वर्षमा एमालेले दुईतिहाइ नजिकको सरकार बनाउनेजस्ता ठुला सफलता प्राप्त गरे पनि अहिलेको पराजयले नयाँ चुनौती खडा गरेको र यस विषयमा पार्टीभित्र गम्भीर समीक्षा हुने बताउनुभयो ।

पौडेलले निर्वाचनमा पराजयका पछाडि आन्तरिक कि बाह्य कारण जिम्मेवार छन्, नीति वा सङ्गठन जिम्मेवार छन् वा नेताहरूको कार्यशैली जिम्मेवार छ भन्ने विषयमा समग्र समीक्षा गरिने र पुनर्गठित गर्ने दावी गर्नुभएको हो ।

त्यस क्रममा उहाँले एमाले र नेकपा एकता चर्चाको सन्दर्भ कोट्याउँदै अब नेपाली कम्युनिष्ट पार्टी -नेकपा) संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्न सक्ने हैसियत नरहेको पनि बताउनुभयो ।

उपाध्यक्ष पौडेलले पुष्पकमल दाहाल प्रचण्डको सत्ता कब्जा गर्ने सोच र उग्रवामपन्थी भड्कावका कारण माओवादी आन्दोलन अहिले विघटनको अवस्थामा पुगेको आरोप लगाउँदै माओवादी शान्तिपूर्ण राजनीतिमा आएपछि पनि लोकतान्त्रिक पद्धतिलाई पूर्ण रूपमा आत्मसात् गर्न नसक्दा र सत्ता कब्जाको धङधङी नत्याग्दा आज सो पार्टीको अस्तित्व सङ्कटमा परेको तर्क गर्नुभयो ।

सम्बोधनका क्रममा उपाध्यक्ष पौडेलले वर्तमान सरकारका गतिविधिहरू लोकतान्त्रिक मूल्यमान्यता र संवैधानिक मार्गदर्शन विपरीत रहेको आरोप पनि लगाउनुभयो । उहाँले सरकारका पछिल्ला कामकारबाहीले जनतामा निराशा पैदा गरेको भन्दै एमालेको गम्भीर ध्यानाकर्षण भएको पनि बताउनुभयो ।

सरकारले ट्रेड युनियन अधिकार र विद्यार्थीको सङ्गठित हुन पाउने अधिकारमाथि प्रहार गरिरहेको आरोप लगाउँदै भन्नुभयो, ‘ट्रेड युनियन र विद्यार्थीहरूको सङ्गठित हुने अधिकार विश्वव्यापी रूपमा लोकतन्त्रवादी र कम्युनिस्ट दुवैले स्वीकार गरेको मान्य अभ्यास हो । तर वर्तमान सरकार यी अधिकारहरूको विरुद्धमा उभिनु विडम्बनापूर्ण छ । जनताबाट निर्वाचित सरकार सधैँ संविधानको मार्गदर्शनमा चल्नुपर्छ ।’

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.