जतिन्दर सिंहको शतकीय पारीमा ओमानले आइसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक श्रृङ्खलामा नेपाल सामू जितको लागि ३ सय ६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
बुधबार र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ५ रन बनायो । ओमानको लागि कप्तान जतिन्दर सिंह ९६ बलमा १५ चौका र ५ छक्का प्रहार गर्दै १३० रनको शतकीय पारी खेले भने जितेन रामानन्दीले ४३ रन बनाए ।
त्यस्तै आर्यन विष्टले ३५ रन जोड्दा हमाद मिर्जाले ३०, विनायक शुक्लाआशिष ओडेदराले समान २३-२३ रन बनाए । नेपालको लागि सोमपाल कामीले चार विकेट लिए भने सन्दीप लामिछाने,र दीपेन्द्रसिंह ऐरीको भागमा समान दुई-दुई विकेट रह्यो ।
सिरिजमा नेपाल, यूएई र ओमानको सहभागिता रहेको छ । नेपाल रोहित पौडेल र ओमान जतिन्दर सिंहको कप्तानीमा मैदान उत्रदै छ । आज नेपाल घरेलु मैदानको फाइदा उठाउँदै जित निकाल्दै सिरिजमा लगातार दोस्रो जितको योजनामा रहेको छ भने उता ओमान पनि नेपाललाई उसकै मैदानमा पराजित गर्दै सिरिजमा पहिलो जित निकाल्ने योजनामा रहेको छ ।
गत शनिबार भएको पहिलो खेलमा नेपालले यूएईलाई ३७ रनले पराजित गरेको थियो भने सोमबार भएको खेलमा ओमान यूएईसँग २५ रनले पराजित भएको थियो । यस सिरिजमा तीन देशले एक अर्काविरुद्ध समान दुई-दुई खेल खेल्नेछन् । आज नेपाल र ओमानले तेस्रो खेल खेल्दा मे १ मा नेपाल र युएईले, मे ३ मा ओमान र युएईले तथा मे ५ मा नेपाल र ओमानले खेल्ने तालिका रहेको छ ।
नेपाल २१ खेलमा ६ जित, १३ हार र २ खेलको नतिजाविहिन हुँदा १४ अंक जोड्दै सातौं स्थानमा छ भने २५ खेल खेलेको ओमान भने १३ जित, ९ हार र ३ खेलको नतिजा नआउँदा २९ अंक जोड्दै तेस्रो स्थानमा रहेको छ । नेपाली टोलीमा एक परिवर्तन गरिएको छ । ललित राजवंशीको स्थानमा गुल्सन झालाई राखिएको छ ।
नेपालको प्लेइङ ११ मा रोहित पौडेल(कप्तान), आशिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, भिम सार्की, आरिफ शेख, दिपेन्द्रसिह ऎरी, सोमपाल काम , गुल्शन झा, करण केसी, सन्दीप लामिछाने र बसिर अहमद रहेका छन् ।





प्रतिक्रिया राख्नुहोस्