अर्थ

नेपालीको आम्दानी २४ रुपैयाँ बढ्ने- आर्थिक वृद्धिदर २.२७ प्रतिशतमा खुम्चने

विश्वव्यापी महामारीको रुपमा फैलिइरहेको कोरोना भाइरस संक्रमणका कारण संसारकै आर्थिक अवस्था कमजोर रहने निश्चित जस्तै भएका बेला नेपालको आर्थिक वृद्धिदर पनि अनुमातिन लक्ष्यभन्दा निकै न्यून हुने भएको छ । यस वर्ष नेपालीको दैनिक आम्दानी २४ रुपियाँ बढ्ने र आर्थिक वृद्धि २.२७ प्रतिशतमा सीमति हुने केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।

चालु आर्थिक वर्षमा नेपालीको प्रतिव्यक्ति आम्दानी एक लाख २६ हजार १८ रुपियाँ पुग्ने विभागले अनुमान गरेको छ । गत वर्ष यस्तो आय एक लाख १७ हजार २६८ रुपियाँ थियो । दैनिक औसतमा हिसाब गर्दा चालू आवमा नेपालीको आम्दानी ३४५ रुपियाँ पुग्ने देखिन्छ । जुन अघिल्लो आवको दैनिक औसतको तुलनामा २४ रुपियाँले बढी हो ।

चालू आवको बजेटमा सरकारले आर्थिक वृद्धिदर ८.५ प्रतिशतको लक्ष्य राखे पनि कोरोना विषाणुको सङ्क्रमणका कारण अर्थतन्त्र प्रभावित भई वृद्धिदर खुम्चिने अवस्था आएको र अर्थतन्त्रको आकार ३७ खर्ब ६७ अर्ब चार करोड रुपियाँ पुग्ने अनुमान रहेको विभागले जनाएको छ ।

विभागका अनुसार आर्थिक वृद्धिदर प्रक्षेपणका लागि चालू आवको सातदेखि नौ महिनासम्मका आर्थिक क्षेत्रसँग सम्बन्धित प्राप्त आँकडा र बाँकी अवधिको वस्तु तथा सेवा उत्पादनको अनुमान गरिएको छ ।

कोरोना भाइरसको असर कति समयसम्म रहने यकिन नभए पनि होटल र यातायात क्षेत्र भने अहिलेसम्म निकै प्रभावित भएको विभागले उल्लेख गरेको छ । विभागका अनुसार कुल गार्हस्थ उत्पादनमा यी दुवै क्षेत्रको मूल्य अभिवृद्धि वृद्धिदर चालू आवमा ऋणात्मक रहने छ । चालू आवको नौ महिनासम्म पर्यटक आगमनमा १३.८२ प्रतिशतले कमी हुँदा होटल तथा रेस्टुरेन्ट क्षेत्र नराम्रोसँग प्रभावित हुने विभागको प्रक्षेपण छ ।

चालू आवमा कुल गार्हस्थ उत्पादन (जीडीपी)मा यस क्षेत्रको योगदान १.४१ प्रतिशत हुने भए पनि कुल मूल्य अभिवृद्धिमा भने १३.८२ प्रतिशतले कमी आउने अनुमान छ । विश्वव्यापी तथा आन्तरिक रूपमा आवतजावतमा आएको अवरोध तथा यातायात प्रणालीमा आएको अवरोधले पनि यस क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर ऋणात्मक रहने प्रक्षेपण विभागको छ ।

क्षेत्रगत रूपमा कृषि तथा वन क्षेत्रको योगदान २७.०८ प्रतिशत रहने अनुमान छ । धान उत्पादनमा आएको कमी र कोरोना सङ्क्रमणले निम्त्याएको महामारीले आपूर्तिमा आएको अवरोधका कारण तरकारी, मासु तथा दुग्ध उत्पादनमा केही कमी आउने भए पनि गहुँ तथा फलफूल बालीमा सामान्य वृद्धि हुने अनुमान छ । मत्स्यपालन क्षेत्रको कुल मूल्य अभिवृद्धि ७.१७ प्रतिशतले बढ्ने र जीडीपीमा यसको योगदान ०.५७ प्रतिशत रहने अनुमान छ । आपूर्ति प्रणालीमा आएको रोकावटकै कारण खानी तथा उत्खनन क्षेत्रको मूल्य अभिवृद्धि दर ०.६९ प्रतिशतले ऋणात्मक रहने अनुमान छ ।

उद्योग क्षेत्रको योगदान चालू आवमा ५.०९ प्रतिशत पुग्ने अनुमान छ । यद्यपि कुल मूल्य अभिवृद्धि भने २.२७ प्रतिशतले ऋणात्मक रहने प्रक्षेपण विभागले गरेको छ । विद्युत्, ग्यास तथा पानीको जीडीपीमा योगदान बढेर १.४१ प्रतिशत पुग्ने अनुमान छ । विद्युत् उत्पादनमा आएको वृद्धिले यस क्षेत्रको मूल्य अभिवृद्धि वृद्धिदर २८.७५ प्रतिशतले वृद्धि हुने प्रक्षेपण छ ।

निर्माणाधीन आयोजनामा उपकरणलगायत सामग्रीको आपूर्तिमा आएको अवरोधले यस क्षेत्रको वृद्धिदर ०.३१ प्रतिशतले ऋणात्मक हुनेछ । चालु आवमा जीडीपीमा १३.८९ प्रतिशतको योगदान पुग्ने अनुमान गरिएको थोक तथा खुद्रा व्यापार क्षेत्रको मूल्यवृद्धि वृद्धिदर २.११ प्रतिशतले मात्र बढ्ने अनुमान गरिएको छ ।

वित्तीय क्षेत्रको योगदान ६.६२ प्रतिशत पुग्ने र वृद्धिदर ५.१५ प्रतिशत हुने प्रक्षेपण विभागले गरेको छ । व्यक्तिगत आवासीयसमेत गणना हुने हुँदा रियल स्टेट रेन्टिङ तथा व्यावसायिक सेवा ३.२५ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । यस क्षेत्रको योगदान ११.८५ प्रतिशत पुग्ने अनुमान पनि विभागले गरेको छ ।

कोरोना भाइरसको सावधानीस्वरूप स्वास्थ्यमा भएको खर्चले यस क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर ७.०७ प्रतिशतले बढ्ने देखिएको छ । निजी शैक्षिक संस्थाको आय बढेकाले शिक्षा क्षेत्रको वृद्धिदर ४.८८ प्रतिशत पुग्ने पनि विभागले जनाएको छ । यस क्षेत्रको जीडीपीमा योगदान ७.६७ प्रतिशत प्रक्षेपण गरिएको छ ।

विभागले चालू आवमा नेपाल भित्रने विपे्रषण सात खर्ब १६ अर्ब पुग्ने अनुमान छ । जब कि गत आवमा नेपालले आठ खर्ब ७९ अर्ब रुपियाँ विपे्रषण प्राप्त गरेको थियो । यस हिसाबले चालू आवमा एक खर्ब ६३ अर्ब रुपियाँ विपे्रषण नेपालले गुमाउने देखिएको छ । त्यस्तै व्यापार घाटा १२ खर्ब सात अर्ब रुपियाँ पुग्ने विभागले प्रक्षेपण गरेको छ ।

सम्बन्धित खबर

Back to top button