राजनीति

पार्टीगत स्वार्थभन्दा माथि उठ्न महामन्त्री डा. कोइरालाद्वारा आह्वान

नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले कोरोना भाइरसका कारण सिर्जित वर्तमान सङ्कटको अवस्थामा पार्टीगत र राजनीतिक स्वार्थभन्दा माथि उठेर एकताबद्ध ढङ्गले जनताको स्वास्थ्य र समस्या समाधानमा लाग्न सबैलाई अपिल गर्नुभएको छ ।

भिडियो सन्देश मार्फत् बिहिबार उहाँले सो भाइरसको जोखिम हुन नदिन लकडाउन जारी रहदा दैनिक ज्यालादारी गर्ने मजदुर, श्रमिक, निम्न आय भएका व्यक्ति, गर्भवती महिला र अन्य दीर्घ बिरामीले भोग्नुपरेका समस्याले आफूलाई चिन्तित बनाएको उल्लेख गर्नुभएको छ ।

महामन्त्री डा कोइरालाले सिमानामा अड्केका तथा विदेशमा अप्ठ्यारोमा परेका नेपालीको उद्धार गर्नेबारेमा समेत व्यक्तिगतरूपमा र काँग्रेस पार्टीका तर्फबाट पटक–पटक सरकारलाई ध्यानाकर्षण गराएको अपिलमा जनाउनुभएको छ ।

लाखौँलाख जनताको ज्यान जोखिममा भएको यस सङ्कटको बेला कुनै पनि विभाजनको रेखा कोर्नु मुर्खता मात्र होइन जनताप्रतिको धोकाधडी भएको बताउँदै उहाँले सङ्कटको समयमा अग्रभागमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मीलाई आफ्नो व्यक्तिगत र पार्टीका तर्फबाट धन्यवाद दिनुभएको छ । “म आफैँ पनि चिकित्सक भएका नाताले उहाँहरुको काम कति चुनौतीपूर्ण छ भनेर बुझ्न सक्छु । त्यसैले यसमा स्वास्थ्यकर्मीलाई सहयोग र सम्मान गर्न सबैलाई आग्रह गर्दछु”, महामन्त्री डा कोइरालाले भन्नुभएको छ ।

साथै उहाँले मुस्लिम समुदायको रमजान पर्वका अवसरमा शुभकामना दिँदै वर्तमान विषम परिस्थितिमा घरमै बसेर नमाज पढ्न र भीडभाड नगरिदन आग्रहसमेत गर्नुभएको छ । भिडियो सन्देशमा उहाँले कारोना भाइरसको सङ्क्रमणका जोखिम र त्यसबाट बच्ने उपायका बारेमा जानकारी गराउनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.