आणविक सम्झौता स्वीकार गरी ‘बुद्धिमानी देखाउन’ इरानलाई ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै आफ्नो आणविक कार्यक्रममाथि कडा नियन्त्रणका लागि वासिङ्टनका मागहरू स्वीकार गर्न “चाँडै बुद्धिमानी देखाउन” आग्रह गर्नुभएको छ ।
पेन्टागन प्रमुख पीट हेगसेथले सोही दिनपछि कंग्रेसमा बयान दिने तयारी गरेका थिए, तर अमेरिकी सञ्चारमाध्यमका रिपोर्टअनुसार ट्रम्पले हर्मुज जलडमरूमध्य पुनः खोल्ने सम्बन्धी इरानको पछिल्लो प्रस्ताव अस्वीकार गर्ने निर्णय गरिसक्नुभएको छ।
वाल स्ट्रिट जर्नलका अनुसार उहाँले तेहरानलाई आफ्नो आणविक कार्यक्रम विघटन गर्न बाध्य पार्न इरानी बन्दरगाहहरूमा नाकाबन्दी जारी राख्ने योजना बनाउनुभएको छ ।
ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा लेख्नुभएको छ, “इरानले आफ्नो काम मिलाउन सकेको छैन । उनीहरूले चाँडै बुद्धिमानी देखाउनुपर्छ ।” सो पोस्टमा उहाँले विस्फोटले ध्वस्त बनाइरहेको मरुभूमिको किल्ला अगाडि राइफल बोकेको आफ्नो काल्पनिक तस्वीरसहित “अब दयालु व्यवहार छैन” भन्ने नारा पनि राख्नुभएको थियो ।
दुई महिनाअघि अमेरिका र इजरायलले युद्ध सुरु गरेपछि इरानले खाडी क्षेत्रबाट तेल तथा ग्यास ढुवानी हुने महत्वपूर्ण मार्ग हर्मुज जलडमरूमध्य बन्द गरेको छ, जसले विश्व अर्थतन्त्रमा ठूलो असर पारेको छ। तर यसबाट इरानको आफ्नै अर्थतन्त्र पनि प्रभावित भएको छ।
बुधबार इरानी रियाल डलरको तुलनामा ऐतिहासिक न्यून स्तरमा झरेको छ। पेरिसमा एएफपीसँग कुरा गरेका तेहरानका बासिन्दाहरूले निराशा व्यक्त गरेका छन्।
५२ वर्षीय एक वास्तुविद्ले नाम नखुलाउने सर्तमा भन्नुभयो, “पछिल्ला वर्षहरूमा जति पटक वार्ता भएको छ, जनताको आर्थिक अवस्था झन् बिग्रिएको छ। प्रतिबन्धहरू या त सुरु भएका छन् वा झन् कडा बनाइएका छन्।”
“उनीहरू वार्ता गर्न जान्छन् र झन् धेरै प्रतिबन्ध लिएर फर्किन्छन्, र मुद्दा सधैं आणविक नै हुन्छ। जनताको अवस्था, अर्थतन्त्र वा स्वतन्त्रताबारे कुनै कुरा हुँदैन। मानिसहरूलाई ‘वार्ता’ भन्ने शब्द सुन्न पनि मन नलाग्ने अधिकार छ,” उहाँले भन्नुभयो।
‘विश्वास छैन’
मंगलबार ह्वाइट हाउसको राजकीय भोजमा ट्रम्पले बेलायतका राजा चार्ल्स तृतीय र अन्य अतिथिहरूसँग इरान “सैन्य रूपमा पराजित भएको” बताउनुभएको थियो। उहाँले भन्नुभयो, “चार्ल्स मभन्दा पनि बढी सहमत छन्—हामी कहिल्यै पनि त्यो पक्षलाई आणविक हतियार राख्न दिने छैनौं।”
तर इरानी सेनाका प्रवक्ता अमिर अकरामिनियाले मंगलबार राज्य टेलिभिजनमार्फत “हामी युद्ध सकिएको ठान्दैनौं” भन्दै अमेरिकामाथि कुनै विश्वास नभएको बताउँदै भन्न्भयो, “हामीसँग अझै प्रयोग नगरेका धेरै उपायहरू छन्, विगतका दुई युद्धको अनुभवका आधारमा नयाँ लडाइँका तरिका र साधन छन्, जसले आवश्यक परे अझ निर्णायक रूपमा जवाफ दिन सक्नेछ।”
युद्ध अन्त्यका प्रयासहरू पछिल्ला दिनहरूमा ठप्प बनेका छन्। पाकिस्तानमार्फत पठाइएको इरानको पछिल्लो प्रस्ताव सोमबार ट्रम्प प्रशासनका अधिकारीहरूले अध्ययन गरेका थिए, जसमा आणविक मुद्दा र हर्मुजसम्बन्धी ‘रेड लाइन’हरू समेटिएको बताइएको छ।
योजनाअनुसार तेहरानले जलडमरूमध्यमा आफ्नो नियन्त्रण केही खुकुलो पार्ने र वासिङ्टनले आफ्नो नाकाबन्दी हटाउने, साथै आणविक कार्यक्रमलगायतका विषयमा व्यापक वार्ता जारी रहने अपेक्षा गरिएको छ।
इरानी रक्षा मन्त्रालयका प्रवक्ता रेजा तलाए–निकले भन्नुभयो, “वासिङ्टनले आफ्ना अवैध र अव्यावहारिक मागहरू त्याग्नुपर्छ। संयुक्त राज्य अमेरिका अब स्वतन्त्र राष्ट्रहरूलाई आफ्नो नीति थोपर्ने अवस्थामा छैन ।”
अमेरिकी सहयोगी कतार मध्यस्थकर्ताको भूमिकामा रहे पनि इरानी आक्रमणको सामना गरेकोले स्पष्ट समाधान नआए ‘जमेको द्वन्द्व’ (फ्रोजन कन्फ्लिक्ट) को सम्भावना रहेको चेतावनी दिएको छ।
‘रणनीति छैन’
नोभेम्बरमा हुने मध्यावधि निर्वाचन नजिकिँदै जाँदा र तेलसहितका वस्तुको मूल्य बढ्दै जाँदा ट्रम्पमाथि युद्धबाट बाहिरिने उपाय खोज्न घरेलु दबाब बढेको छ। सर्वेक्षणहरूले यो युद्ध अमेरिकी जनतामाझ अलोकप्रिय देखाएको छ।
ब्रेन्ट कच्चा तेलको मूल्य अप्रिलको सुरुवाती युद्धविरामअघिको स्तरभन्दा माथि, करिब ११३ डलर पुगेको छ भने वेस्ट टेक्सास इन्टरमिडियट १०१ डलर नाघेको छ।
जर्मनीका चान्सलर फ्रिडरिख मर्जले सोमबार “अमेरिकासँग स्पष्ट रूपमा कुनै रणनीति छैन” भन्दै यो युद्ध “कम्तीमा पनि अविवेकी” रहेको बताउनुभएको छ । ट्रम्पले पछि सामाजिक सञ्जालमा मर्जको आलोचना गर्दै “उनी के बोलिरहेका छन् भन्ने थाहा छैन” भन्नुभएको थियो ।
हालै विस्तार गरिएको युद्धविरामका बाबजुद लेबनान क्षेत्रमा हिंसा जारी छ। इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहले इजरायलतर्फ रकेट प्रहार गरेपछि लेबनान पनि युद्धमा तानिएको थियो। यसको जवाफमा इजरायलले हवाई आक्रमण र स्थल आक्रमण गरेको थियो।
युद्धविराम सुरु भएपछि पहिलोपटक लेबनानी सेनाले मंगलबार इजरायली आक्रमणले आफ्ना सैनिकलाई लक्षित गरेको र दक्षिण क्षेत्रमा दुई सैनिक घाइते भएको जनाएको छ। बुधबार अर्को आक्रमणमा एक सैनिकको मृत्यु भएको पनि सेनाले जनाएको छ।





प्रतिक्रिया राख्नुहोस्