राजनीति

आत्मालोचनासहित एकताबद्ध भएर अघि बढने घोषणा, गौतमलाई प्रतिनिधिसभा सदस्य बनाउने

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को राजनीतिक संकट टरेको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्री तथा अध्यष केपी शर्मा ओली र अर्का अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आआफ्नो जिम्मेवारीको काममा आत्मआलोचना गर्दै एकतावद्ध भएर अगाडी बढ्ने घोषणा गर्नुभएको छ ।

यसैगरी सचिवालय बैठकले पार्टी एकतालाई आघात पुग्ने खालका गतिविधि र अभिव्यक्ति दिन समेत रोक लगाएको छ भने सरकारलाई पार्टीको मार्ग निर्देशन र नीति निर्देशनमा सरकार संचालन गर्ने निर्णय भएको बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनु भयो ।

बैठकका निर्णयबारे जानकारी दिदै प्रवक्ता श्रेष्ठले भन्नुभयो ‘पार्टी वा सरकार वा सम्वन्धित क्षेत्रमा जे जति कमिकमजोरी भएका छन् ती कमी कमजोरीमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्नो हकको जिम्मेवारीका निम्ती समेत आत्मआलोचना गर्नुभएको छ । त्यसैगरी कमरेड अध्यक्ष प्रचण्ड र अरु कमरेडहरुले पनि त्यही अनुसार आत्मआलोचित हुँदै अगाडी बढ्ने संकल्प गर्नुभएको छ ।’

त्यसै गरी बैठकले २५ वैशाखमा स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको छ । बैठकको एजेण्डा तय गर्न अघिल्लो दिन सचिवालयको बैठक बस्ने प्रवक्ता श्रेष्ठ प्रकाशले जानकारी दिनुभएको छ । उहाँका अनुसार बैठकले उपाध्यक्ष बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभा सदस्य बनाउने निर्णय समेत गरेको छ ।

स्मरणीय के छ भने सचिवालयको यसअघिको बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा मागिएपछि उहाँले मुलुकमा कोरोना संक्रमण हटेपछि राजीनामा दिने र उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गर्नुभएको थियो । गौतम प्रतिनिधिसभाका सांसद हुनुहुन्न ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.