भारतबाट फर्केर क्वारेन्टाइनमा जाँदाजाँदै मृत्यु भएका वृद्धको थ्रोट स्वाब परीक्षण सुरु
यही वैशाख १८ गते भारतबाट फर्किएर क्वारेन्टाइनमा जाँदाजाँदै शनिबार मृत्यु भएका एक वृद्धको थ्रोट स्वाब परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको पठाइएको छ ।

बैतडीको पुर्चौडी नगरपालिका–६ मनकालीका ६७ वर्षीय जुने लुहारको क्वारेन्टाइनमा लैजाँदै गर्दा मृत्यु भएपछि स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाइएको हो ।
सो परीक्षणको रिपोर्टपछि मात्रै जुनेमा कोरोना भएर नभएको थाहा हुने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताउनुभयो । रिपोर्ट एक दुई दिनभित्रै आउने उहाँले बताउनुभयो ।
भारतीय सीमानाका झुलाघाटबाट उद्धार गरेर ल्याइएका जुनेको शनिबार मृत्यु भएको थियो । लुहार यही वैशाख १८ गते भारतको पिथौरागढबाट झुलाघाट नाका हुँदै स्वदेश भित्रिनुभएको थियो । एक महिनाअघि उपचारका लागि भारतको पिथौरागढ पुगेका लुहार लकडाउनका कारण पिथौरागढमै बसेका थिए ।
उहाँको शनिबार पुर्चौडी नगरपालिका–६ को क्वारेन्टाइनमा लैजाँदै गर्दा खडायत गाउँ नजिकै बाटोमा हिँड्दाहिँड्दै मृत्यु भएको थियो । जुने लामो समयदेखि दमका बिरामी रहेको बुझिएको छ ।
मृतक लुहारको शवलाई प्लाष्टिक बेरेर सुरक्षात्मक तरिकाले दाहसंस्कार गरिसकिएको पुर्चौंडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोदकुमार कुँवरले जानकारी दिनुभयो । लुहारसँग आएकाहरुलाई छुट्टै क्वारेन्टाइनमा राखिएको छ । यही वैशाख १८ गते झुलाघाट र धार्चुला नाकाबाट दुई हजार ६९५ नेपाली स्वदेश फर्किएका थिए ।