अर्थ

एक किलोग्राम चार सय सात ग्राम सुनसहित पाँचजना पक्राउ

नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलोग्राम ४०७ ग्राम सुनसहित पाँचजनालाई पक्राउ गरेको छ । अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरी टोलीले एक किलोग्राम ४०७ ग्राम ९१० मिलिग्राम सुनजस्तो पहेँलो धातुसहित प्युठानका यमलाल खनाल, गुल्मीका जनक खड्का, नुवाकोटका सुमित तामाङ, धनबहादुर तामाङ र नवलपरासीका राजु विश्वकर्मालाई सोमबार दिउँसो पक्राउ गरेको हो ।

पक्राउपरेकामध्ये एयर अरेबियाको उडानमा दुबईबाट आएका यमलाल र जनकको साथबाट ६९८ ग्राम ९१० मिलिग्राम बराबरको सुन जस्तो देखिने बिस्कुट आकारको पहेँलो धातु दुई थान र दुईवटा बाला बरामद गरेको हो ।

यस्तै हिमालय एयरद्वारा दुबईबाट आएका सुमित र धनबहादुर तथा नेपाल एयरलाइन्सबाट आएका राजुको साथबाट जम्मा ७०९ ग्राम उक्त धातु बरामद गरेको छ । पक्राउ परेका उनीहरुले लगेजभित्र स्पिकरमा फल्स बटम बनाई भन्सार छलि विदेश लैजान लागेको अवस्थामा फेला पारी पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले बताएको छ ।

पक्राउ पाँचै जनालाई आवश्यक अनुसन्धान एवं कारवाहीका लागि भन्सार कार्यालय गौचर बुझाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.