स्वास्थ्य

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या घण्टाघण्टामा बढ्दै

धनगढीमा थप छजनासहित धरानमा एक शिक्षक र हेटौंडामा महिलाको मृत्यु

कोरोनाको नयाँ भेरियन्ट संक्रमण यति डरलाग्दो हुँदै गएको छ कि प्रत्येक घण्टामा कुनै न कुनै जिल्लामा यसबाट मृत्यु हुनेको खबर आइरहेका छन् । यसबीचमा कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप छ कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

पछिल्लो पटक मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–७ की ७७ वर्षीया र वडा नं १३ का २२ वर्षीय छन् । महिलाको सोमबार बिहान साढे २ बजे र पुरुषको सोमबार राति साढे ११ बजेको समय मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो ।

यसैगरी दार्चुला, मालिकार्जुन गाउँंपालिका –८ का ६६ वर्षीय पुरुषको पनि एन्टिजेनबाट जाँच गर्दा रिपोर्ट पोजेटिभ आएकामा अस्पतालको आकस्मिक कक्षमा सोमबार राति ९ बजेका समयमा मृत्यु भएको छ ।

यस्तै कञ्चनपुर, भीमदत्त नगरपालिका –१२ घर भएका ७१ वर्षीय पुरुषको अस्पतालको इमर्जेन्सी वार्डमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । एन्टिजेनबाट जाँच गर्दा रिपोर्ट पोजेटिभ आएकामा उनको आज बिहान ३ बजेका समयमा मृत्यु भएको हो ।

यस्तै बझाङका २६ वर्षीय पुरुषको पनि यही वैशाख १४ गते एन्टिजेनबाट जाँच गर्दा रिपोेर्ट पोजेटिभ आएकामा इमर्जेन्सी वार्डमा सोमबार राति साढे १० बजेका समयमा मृत्यु भएको जनाइएको छ । सेतीमै उपचाररत बर्दियाका ३० वर्षीय पुरुषको पनि मृत्यु भएको छ । सोमबार श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । पिसिआर रिपोर्ट पोजेटिभ आएकामा राति २ बजेका समयमा उपचारका क्रममा उहाँको मृत्यु भएको जोशीले बताउनुभयो ।

उता सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सप्तरीका एक शिक्षकको मृत्यु भएको छ । उहाँको सोमबार बिहान सवा पाँच बजे मृत्यु भएको हो ।

सप्तरीको सप्तकोशी नगरपालिकस्थित राष्ट्रिय माविमा अध्यापनरत ४५ वर्षीय शिक्षकलाई यही १३ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । उच्च रक्तचापबाट पीडित भएको प्रतिष्ठानका सहप्रवक्ता डा चुडामणि पोखरेलले जानकारी दिनुभयो ।

त्यस्तै कोभिड–१९ सङ्क्रमणका कारण हेटौँडाकी एक महिलाको मृत्यु भएको छ । कोरोनाबाट हेटौँडा उपमहानगरपालिका–६ की ४१ वर्षीया महिलाको सोमबार बिहान मृत्यु भएको हो । ती महिलाको हेटौँडा अस्पतालको इमर्जेन्सी वार्डमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका निमित्त मेडिकल सुपेरिटेन्डेन्ट डा प्रवीण श्रेष्ठले जानकारी दिनुभयो । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सोमबार भर्ना गरिएको थियो ।

मृतकको सोमबार नै पिसिआर परीक्षण गरिएको थियो । स्वाब दिएपछि उनी घर गएकी थिइन् । श्वासप्रश्वासमा समस्या आएपछि ति महिला उपचारका लागि पुनः अस्पताल भर्ना भएकी थिइन् । उनको मृत्युपश्चात् पिसिआर रिपोर्ट पोजेटिभ आएको डा श्रेष्ठले बताउनुभयो । योसँगै कोरोनाका कारण हेटौँडा अस्पतालमा चार जनाको मृत्यु भइसकेको छ । आइतबार राति हेटौँडा उपमहानगरपालिका–१ का ५५ वर्षीय पुरुष, सोमबार बाराका एक पुरुष र महोत्तरीकी एक महिलाको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको थियो ।

कर्णालीमा पाँच र भरतपुरमा दुई गरी थप सात सङ्क्रमितको मृत्यु

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button