जन सरोकार

सीमा क्षेत्रमा सशस्त्रको निगरानी चौकी ५०० पुर्‍याइने

मुलुकको सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालको सीमा निगरानी चौकी (विओपी) को सङ्ख्या ५०० पुर्‍याइने भएको छ । कोभिड–१९ को सङ्क्रमण जोखिम रहेका बेला गृह मन्त्रालयले सीमा नाकामा थप कडाइ गर्दै सशस्त्र प्रहरीको विओपी थप्ने तयारी गरेको हो ।

हाल सीमा क्षेत्रमा सशस्त्रको १२१ स्थायी विओपी छ । गृहमन्त्री रामबहादुर थापाको निर्देशन अनुरुप सशस्त्र प्रहरी बलले यससम्बन्धी खाका तयार पारेको हो । सशस्त्र प्रहरीले उक्त खाकाबारे गृहमन्त्री थापा समक्ष प्रस्तुतसमेत गरेको थियो । सीमा क्षेत्रमा भारतको ५३० विओपी छ । सोही अनुपातमा विओपी थप्न लागिएको हो ।

प्रस्तावअनुसार सो सङ्ख्यामा जनशक्ति खटाउन नौ हजार जनशक्ति थप गर्नुपर्ने प्रस्ताव पनि सशस्त्रले राखेको छ । हाल सरदर १५ किलोमिटरको दूरीमा रहेको विओेपी थपिएपछि ३.५ किलोमिटरमा रहनेछ । अहिले सीमावर्ती जिल्लामा धेरै अस्थायी चौकी राखिएको छ ।

गृह मन्त्रालयमा भएको छलफलमा गृहमन्त्री थापाले सीमा व्यवस्थापनको विषयलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउँदै विओेपी थपसम्बन्धी प्रस्ताव आफूले मन्त्रिपरिषद्मा लैजाने बताउनुभयो । उहाँले सशस्त्र प्रहरीले तयार पारेको प्रस्ताव राम्रो रहेको भन्दै विओेपी रहने स्थान, आवश्यक पूर्वाधार लगायतका विषयमा थप विस्तृत प्रस्ताव ल्याउन सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाललाई निर्देशन दिनुभयो ।

शान्त, समृद्ध र स्वाधीन नेपालका लागि सीमा व्यवस्थापन अनिवार्य शर्त रहेको बताउँदै गृहमन्त्री थापाले यसका लागि राज्यले बजेटमा कन्जुस्याइँ गर्न नहुने बताउनुभयो । तत्कालै वा चरणबद्ध रुपमा ५०० स्थानमै विओेपी स्थापना प्रक्रिया अगाडि बढाइने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले अहिले जटिल परिस्थितिमा सीमित स्रोत साधनका बाबजुद सीमामा कोरोना नियन्त्रणका लागि सुरक्षा निकायले खेलेको भूमिका प्रशंसा गर्नुभयो ।

छलफलमा गृहसचिव महेश्वर न्यौपानेले सीमाको विषय संवेदनशील विषय भएकाले सीमाबाट हुने अपराध, चोरी, तस्करी नियन्त्रणका लागि पनि विओेपी बढाउनुको विकल्प नरहेको बताउनुभयो । उहाँले भन्सारको १११ ठाउँमा रहेको जग्गा विओपीलाई दिन अर्थ मन्त्रालय सकारात्मक देखिएको जानकारी दिँदै अन्य स्थानमा प्रदेश सरकार, स्थानीय निकाय र जिल्ला प्रशासनसँगको समन्वयमा आवश्यक जग्गा खोज्न सशस्त्र प्रहरीलाई निर्देशन दिनुभयो ।

यसअघि सीमा क्षेत्रमा ८७ विओपी रहेकामा गृहमन्त्री थापाले मन्त्रालय सम्हालेपछि १२० पु¥याइएको थियो । यसअघि विओपी सङ्ख्या २२१ पुर्‍याउने गृहमन्त्रीको प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकृत गरिसकेको छ । यसअघि विओपीमा पाँच हजार जनशक्ति रहेकामा कोरोनाको सङ्क्रमणका कारण सीमा आठ हजार ३८३ थप जनशक्ति सीमामा थपिएको हो ।

गृहमन्त्री थापाले पहाडी र हिमाली जिल्ला, हेडक्वार्टरलगायतका स्थानमा रहेका जनशक्ति घटाएर सीमामा पठाउन निर्देशन दिएसँगै सीमामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको उपस्थिति बाक्लो छ । कोरोनाको सङ्क्रमणका कारण सीमा क्षेत्रमा हाल अस्थायीसहित गरी एक हजार २१३ सीमा निगरानी चौकी छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.