राजनीति

पत्रकारिताले समाज परिवर्तनको इन्जिन पनि बन्नु पर्दछ : प्रधानमन्त्री शाह

प्रधानमन्त्री वालेन्द्र शाहले पत्रकारिताले समाजको ऐना मात्र होइन, समाज परिवर्तनको इन्जिन पनि बन्नु पर्ने बताउँदै गोरखापत्रको आगामी यात्रा अझ आधुनिक, प्रविधिमैत्री र सुशासनको पक्षमा निर्भीक बनोस् भन्नुभएको छ ।

राष्ट्रिय पत्रकारिता दिवस तथा गोरखापत्र प्रकाशनको १२६ वर्ष प्रवेश तथा गोरखापत्र प्रकाशनको १२६ वर्ष प्रवेशका अवसरमा दिनुभएको शुभकामना सन्देशमा उहाँले सो कुरा बताउनुभएको हो ।

सन्देशमा प्रधानमन्त्री शाहले भन्नुभएको छ, ‘‘पत्रकारिताले समाजको ऐना मात्र होइन, समाज परिवर्तनको इन्जिन पनि बन्नु पर्दछ । गोरखापत्रको आगामी यात्रा अझ आधुनिक, प्रविधिमैत्री र सुशासनको पक्षमा निर्भीक बनोस् । तपाईंहरूको सिर्जनात्मक कार्यले नै समृद्ध नेपालको सपना साकार पार्न बल पुग्ने छ ।’’

शुभकामनाको पूर्णपाठ-

नेपाली पत्रकारिताको जीवन्त इतिहास र हाम्रो गौरवशाली राष्ट्रिय सम्पदा गोरखापत्र १२५ वर्षको ऐतिहासिक यात्रा पूरा गरी १२६ औं वर्षमा प्रवेश गरेको तथा गोरखापत्र संस्थानले आफ्नो ६४ औं वार्षिकोत्सव मनाउन लागेको यस विशेष उपलक्ष्यमा संस्थान परिवार, पत्रकार, कर्मचारी एवम् सम्पूर्ण पाठकमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।

आजको युग परिवर्तनको युग हो । जेन्जीआन्दोलनले स्थापित गरेको नवीन चेतना र सुशासनको भोकलाई आत्मसात् गर्दै वर्तमान सरकारले समृद्ध नेपालको जग बसाल्ने सङ्कल्प लिएको छ । हामीले सरकारको ‘सय दिनको सय बुँदे मार्गचित्र’ सार्वजनिक गरी नतिजामुखी कामहरू अगाडि बढाइरहेका छौं ।

यो सन्दर्भमा गोरखापत्र संस्थानले आफ्नो वार्षिकोत्सवको अवसरमा ‘सुशासन’ विशेषाङ्क प्रकाशन गर्न लागेकोमा मलाई निकै खुसी लागेको छ । सुशासन केवल नारा मात्र होइन, यो डेलिभरी र पारदर्शिताको कडा मानक हो भन्ने सन्देश यस विशेषाङ्गले दिने मेरो विश्वास छ ।

वि.सं. १९५८ बाट सुरु भएको गोरखापत्रको यात्रा केवल सूचना प्रवाहमा मात्र सीमित छैन, यो नेपालको राजनीतिक, सामाजिक र सांस्कृतिक रूपान्तरणको साक्षी पनि हो । राणाकालदेखि आजको डिजिटल युगसम्म आउँदा गोरखापत्रले आफूलाई समयको पदचापसँगै परिवर्तन गरेको छ । ४९ राष्ट्रिय भाषामा सामग्री प्रकाशन गरेर यसले समावेशी नेपालको वास्तविक तस्बिर संसारलाई देखाएको छ ।

आजको डिजिटल युगमा गोरखापत्र अनलाइन, राइजिङ नेपाल अनलाइन सामाजिक सञ्जालका विभिन्न माध्यममार्फत विश्वभरका नेपालीलाई जोडिरहनु संस्थानको प्रशंसनीय कार्य हो ।

प्रविधिले सूचनाको गति बढाएको छ, तर यो गतिसँगै ‘सत्यता’ र ‘विश्वसनीयता’ जोगाउनु आजको प्रमुख चुनौती हो । गोरखापत्रले सधैँ सरकार र जनताबिच पुलको काम गर्दै सत्य र न्यायको पक्षमा आफ्नो कलम चलाइरहनेछ भन्ने मेरो दृढ विश्वास छ ।

अन्त्यमा, पत्रकारिताले समाजको ऐना मात्र होइन, समाज परिवर्तनको इन्जिन पनि बन्नु पर्दछ । गोरखापत्रको आगामी यात्रा अझ आधुनिक, प्रविधिमैत्री र सुशासनको पक्षमा निर्भीक बनोस् । तपाईंहरूको सिर्जनात्मक कार्यले नै समृद्ध नेपालको सपना साकार पार्न बल पुग्ने छ ।

सबैलाई पुनः हार्दिक बधाई र शुभकामना !

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.