राष्ट्र निर्माणको यात्रामा सत्य, तथ्य र निष्पक्ष सूचनाको भूमिका अपरिहार्य : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्र निर्माणको यात्रामा सत्य, तथ्य र निष्पक्ष सूचनाको भूमिका अपरिहार्य हुने भएकाले गोरखापत्रले सदैव राष्ट्रिय एकता, सामाजिक सद्भाव र लोकतान्त्रिक मूल्यको पहरेदार बनेर जनताको निर्भीक आवाज बन्नुपर्ने बताउनुभएको छ ।
गोरखापत्र १२६ वर्ष प्रवेश तथा राष्ट्रिय पत्रकारिता दिवसका अवसरमाआज दिनुभएको शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले सो कुरा बताउनुभएको हो ।
सन्देशमा उहाँले भन्नुभएको छ, ‘‘राष्ट्र निर्माणको यात्रामा सत्य, तथ्य र निष्पक्ष सूचनाको भूमिका अपरिहार्य हुन्छ। गोरखापत्रले सदैव राष्ट्रिय एकता, सामाजिक सद्भाव र लोकतान्त्रिक मूल्यको पहरेदार बनेर जनताको निर्भीक आवाज बनिरहोस् । शिक्षा, स्वास्थ्य, आर्थिक न्याय र सुशासनको जगमा समृद्ध नेपाल निर्माण गर्ने साझा राष्ट्रिय सङ्कल्पमा यस संस्थानको कलम अझ सशक्त ढङ्गले अगाडि बढोस् भन्ने कामना गर्दछु ।’’
सन्देशमाा राष्ट्रपति पौडेलले विसं १९५८ वैशाख २४ गतेबाट सुरु भएको गोरखापत्रको यात्रा केवल एक प्रकाशन गृहको कथा मात्र होइन, यो नेपालको राजनीतिक, सामाजिक र सांस्कृतिक रूपान्तरणको गाथा पनि हो ।
राणाकालीन समयदेखि गणतन्त्रसम्मका हरेक घुम्ती र मोडहरूको साक्षी बनेको यस पत्रिकाका पन्नाहरूमा नेपालको आधुनिक इतिहास सुरक्षित रहेको बताउनुभएको छ ।
उहाँले गोरखापत्रले नेपाली समाजको विविधतालाई जसरी आत्मसात् गरेको छ, त्यो आफैंमा प्रशंसनीय छ । ४९ वटा राष्ट्रिय भाषामा सामग्री प्रकाशन गरेर यसले नेपालको बहुभाषिक र बहुसांस्कृतिक पहिचानलाई राज्यको मूलधारसँग जोड्ने काम गरेको बताउनुभएको छ ।





प्रतिक्रिया राख्नुहोस्