राजनीति

विशेष अधिवेशनको संघारमा दुई मन्त्रीसहित २६ सांसदलाई कोरोना

सङ्क्रमित सांसदहरूलाई छुट्टै हलमा मतदानको व्यवस्था

वैशाख २७ गते सोमबार संसदको विशेष अधिवेशन बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि राष्ट्रपतिबाट आव्हान भएको अधिवेशन अघि गरिएको कोरोना परीक्षणमा दुई मन्त्रीसहित २६ सांसदलाई संक्रमण पुष्टि भएको छ ।

दुई दर्जनभन्दा बढी सांसद संक्रमित भएपछि उनीहरुको उपस्थिति असम्भव छ । प्रधानमन्त्रीले विश्वासको मत लिने अति महत्वपूर्ण अधिवेशनमा ठूलो संख्यामा सांसद उपस्थित हुन नसने भएपछि विशेष अधिवेशन के हुने भन्ने प्रश्न उठेको छ । त्यसो त संक्रमित सांसदहरुलाई छुट्टै राखेर मत दिने व्यवस्था गर्न नसकिने हैन तर यस विषयमा संसद सचिवालयले के निर्णय गर्न हेर्न बाँकी छ ।

प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले सोमबार प्रधानमन्त्रीले विश्वासको मत लिनुअघि आइतवार बस्ने कार्य व्यवस्था परामर्श समितिको बैठकले सङ्क्रमित सांसदहरूका लागि मतदानको व्यवस्था गर्ने प्रक्रियाबारे निर्णय गर्ने बताउनुभएको छ ।

विश्वासको मत लिने प्रस्ताव सफल वा असफल बनाउन थोरै सांसदहरूको सङ्ख्याले समेत फरक पर्ने भएकाले सबैलाई मतदानको व्यवस्था गर्नेबारे छलफल भइरहेको योगीले बताउनुभयो ।

बुधवार र बिहीवार संसद् भवन नयाँ बानेश्वरमा २०५ जना सांसदको परीक्षण गरिएकोमा सबै जनाको रिपोर्ट आउँदा १८ जनामा सङ्क्रमण पुष्टि भयो । त्यसअघि नै दुईजना मन्त्रीसहित आठजना सांसदहरू सङ्क्रमण भएर एकान्तवासमा थिए ।

त्यस्तै संघीय संसद, संसद सचिवालयका कर्मचारी, मर्यादापालक, स्वकीय सचिव, सुरक्षाकर्मी, कर्मचारी गरी १ सय ४१ जनामा संक्रमणको पुष्टि भएको छ ।

ठूलो संख्यामा सांसदहरु संक्रमित भए पनि विवासको मतकार्य नरोकिने सत्ताधारी नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बताउनुभएको छ । उहाँका अनुसार सङ्क्रमित सांसदहरूलाई छुट्टै हलमा मतदानको व्यवस्था गरेर भए पनि विश्वासको मत लिने कार्यक्रम रोकिंदैन । कोभिड सङ्क्रमित भएकै कारण कोहि पनि सांसदहरू विश्वासको पक्ष वा विपक्षमा मत दिनबाट वञ्चित हुनुहुन्न ।

भट्टराईका अनुसार २७ गते नै विश्वासको मतमा मतदान गरेर प्रतिनिधिसभा अधिवेशन अन्त्य गरिनेछ । सभामुखले तोकेको दिनमा हुने भनिएको छ । भरसक २७ गते नै सकौँ भन्नेमा छौँ नभए २८ गते मतदान होला र त्यो एजेन्डा सकिनासाथ संसद् अधिवेशन अन्त्य हुन्छ ।

उता नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले सङ्क्रमित सांसदहरूलाई छुट्टै हलमा राखेर भए पनि मतदानमा सहभागी गराउन सकिने बताउनुहुन्छ ।

खाँडले नन कोभिडहरूलाई एउटा हलमा र सङ्क्रमितहरूलाई अर्को हलमा राखेर भए पनि अधिवेशन र मतदानमा भाग लिने व्यवस्था गरौँ भन्ने कुरा कार्य व्यवस्था परामर्श समितिको बैठकमा राखिने बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.