संसदप्रति सांसद नै उदासिन, रित्तो सदनमा नीति तथा कार्यक्रममाथि छलफल
प्रतिनिधिसभामा यतिबेला सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममाथि छलफल भैरहेको छ । २७५ सदस्यीय प्रतिनिधिसमामा यति महत्वपूर्ण विषयमा छलफल हुँदा पनि सांसदहरुको उपस्थिति न्यून छ ।
अधिकांश सांसदले नीति तथा कार्यक्रम र यसमाथिको छलफल कर्मकाण्डी मात्र भएको आरोप लगाइरहेका बेला सत्तापक्षकै सांसदहरुको उपस्थिति नहुनु संसदप्रति सांसदकै विश्वास नरहेको देखिन्छ ।
छलफलमा भाग लिने सांसदले आफ्ना धारणा राख्ने र बाहिरिने क्रमले नीति कार्यक्रममाथिको छलफल करिब करिब खाली सभामा भइरहेको छ ।
प्रतिनिधि सभामा नीति कार्यक्रममाथिको पछिल्लो तीन दिनको छलफलको अन्त्यसम्म नगण्य सांसद मात्र सभामा उपस्थित छन् । कुनै प्रश्न वा प्रस्ताव निर्णयार्थ पेस गर्नुपर्ने अवस्थाबाहेक गणपूरक सङ्ख्या आवश्यक नपर्ने भएपछि सांसदहरू हाजिर गर्ने र आफ्नो बोल्ने क्रमपछि बाहिरिने गरेका छन् ।
सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते सङ्घीय संसद्को संयुक्त बैठकमा नीति कार्यक्रम पेस गर्नुभएको थियो । नीति कार्यक्रममा वैशाख २२ गतेबाट सभामा छलफल सुरु भएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले छलफलको प्रस्ताव गर्नुभएसँगै प्रमुख विपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट छलफल प्रारम्भ भएको थियो ।
छलफल प्रारम्भमा संशोधनकर्ता ३६ जनाले धारणा राखेका थिए । संशोधनकर्तापछि अन्य १५ सांसदले पनि छलफलमा भाग लिएका थिए ।
त्यसपछिका बैठकमा सुरुवातको उपस्थिति उल्लेख्य भए पनि छलफलका क्रममा सांसदको उपस्थिति निकै न्यून छ । नीति कार्यक्रमको छलफलमा शीर्ष नेताको उपस्थिति पनि न्यून छ । अन्य सांसद पनि उपस्थित हुने र फर्कने क्रम देखिन्छ ।
न्यून उपस्थितिमा छलफलको क्रम आज बिहिबार पनि जारी छ । नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा पनि सत्तापक्षका सांसदहरु विपक्षीमाथि उग्ररुपमा प्रस्तुत भरहेका छन् ।
संसदमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल भैरहँदा एकले अर्कोमाथि प्रतिशोधपूर्ण अभिव्यक्ति दिने बाहेक उपलब्धिपूर्ण कुरा केही छैन । परेका संशोधन प्रक्रियाको निरन्तरता मात्र भएको छ ।




प्रतिक्रिया राख्नुहोस्