राजनीति

अन्तरराष्ट्रिय सम्बन्ध र कूटनीतिक अभ्यासको महत्त्व बढ्दै गएको छ : सभामुख अर्याल

सभामुख डोलप्रसाद अर्यालले वर्तमान विश्व परिवेशमा अन्तरराष्ट्रिय सम्बन्ध र कूटनीतिक अभ्यासको महत्त्व झन् बढ्दै गएको बताउनुभएको छ । नेपाल विश्व सम्बन्ध परिषद्को ७८औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा उहाँले नेपालको अन्तरराष्ट्रिय सम्बन्धका मुख्य आधारस्तम्भहरूमा आधारित रहेर राष्ट्रिय हितको संरक्षण एवं प्रवर्द्धन, आर्थिक कूटनीति र विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

सभामुख अर्यालले परिषद्ले राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउँदै वैदेशिक नीति निर्माण, अनुसन्धान, बौद्धिक बहस तथा नागरिक सहभागिताको प्रवर्द्धनमार्फत नेपालको अन्तरराष्ट्रिय पहिचान सुदृढ बनाउन उल्लेखनीय भूमिका निर्वाह गर्र्दै आएको उल्लेख गर्नुभयो ।

“विश्वव्यापी रूपमा नेपाललाई कूटनीतिक र सांस्कृतिक सम्बन्धहरूलाई थप सुदृढ बनाउने, पर्यटन क्षेत्रमा दिगो विकास र संरक्षण सुनिश्चित सवल कूटनीतिक अभ्यास गर्नुपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “आजको विश्व परिवेशमा हामीले अनेकौँ चुनौती र अवसरहरूको सामना गरिरहेका छौँ । विश्वव्यापी महामारीको प्रभावले यात्रा, पर्यटन र सम्पदाको संरक्षणमा नयाँ चुनौतीहरू सृजना गरिरहेको छ ।”

असंलग्न नीतिका आधारमा रहेर हाम्रो राष्ट्रिय पहिचान र विश्वसामु नेपालको सकारात्मक छवि निर्माण गर्न अवलम्बन गर्ने कूटनीतिले ठूलो भूमिका खेल्न सक्ने बताउँदै सभामुख अर्यालले विश्व कूटनीतिक सम्बन्धहरूलाई अझ सुदृढ बनाउँदै नेपालको आर्थिक समृद्धि समुन्नत समाज निर्माणका लागि अन्तरराष्ट्रिय सम्बन्धलाई अझ दरिलो बनाउन आवश्यक रहेकामा जोड दिनुभयो ।

कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनालले परिषद्ले स्थापनाकालदेखि नै शैक्षिक क्षेत्र र सरकारका व्यावहारिक नीति निर्माण तहबीचको प्रमुख सेतुका रूपमा कार्य गर्दै आएको बताउँदै प्रशंसा गर्नुभयो ।

संयुक्त राष्ट्रसङ्घमा नेपालको सदस्यता तथा असंलग्न आन्दोलनको विकासको प्रारम्भिक चरणमा परिषद्ले विश्व समुदायमा नेपालको स्थानबारे बहस र विचारविमर्श गर्ने महत्त्वपूर्ण मञ्च प्रदान गरेको उहाँको भनाइ थियो ।

“अहिले विश्व अनेकौँ सङ्कटहरूको सङ्गमबाट गुज्रिरहेको छ, यस्ता चुनौतीहरू जसको समाधान कुनै एक राष्ट्रले मात्र गर्न सक्दैन”, उहाँले भन्नुभयो, “जलवायु सङ्कटदेखि विश्वव्यापी आपूर्ति शृङ्खलाको अवरोध र ऊर्जा सुरक्षाका चुनौतीहरूसम्म, नेपालले आफ्नो सार्वभौम अखण्डता कायम राख्दै आफ्नो अर्थतन्त्रलाई विश्व बजारसँग कसरी एकीकृत गर्ने भन्ने मार्ग खोज्नुपरेको छ ।”

आजको विदेश नीति केवल उच्चस्तरीय सम्मेलन र औपचारिक वार्तामा सीमित नरहेको उल्लेख गर्दै मन्त्री खनालले आम नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्धित रहेको र यो हाम्रा आप्रवासी श्रमिकहरूको सुरक्षा र सम्मानसँग समेत सम्बन्धित रहेको बताउनुभयो ।

उहाँले मन्त्रालय परिषद्को प्रयास र गतिविधिहरूलाई सहयोग गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै विदेश नीति तथा कूटनीतिसम्बन्धी सुझाव र योगदानलाई उच्च मूल्याङ्कन गर्ने बताउनुभयो । “परिषद्का सदस्यहरूको ज्ञान र अनुभव राष्ट्रिय सम्पत्ति हो, जसको उपयोग हामी निरन्तर रूपमा गर्न चाहन्छौँ”, उहाँले भन्नुभयो ।

परिषद्का अध्यक्ष डा सुरेश मल्लले करिब आठ दशक लामो गौरवपूर्ण इतिहास बोकेको स्वतन्त्र तथा गैरराजनीतिक चिन्तन केन्द्रको रूपमा परिषद्ले अन्तरसंवाद, बहस, अनुसन्धान तथा नीतिगत सुझावका लागि एक महत्त्वपूर्ण मञ्चका रूपमा स्थापित हुँदै आएको बताउनुभयो ।

“यस संस्थाले नेता, कूटनीतिज्ञ, प्राज्ञ, नीति निर्माता तथा विज्ञहरूलाई नेपाल र विश्वसँग सम्बन्धित महत्त्वपूर्ण विषयहरूमा विचार आदानप्रदान गर्ने विशिष्ट अवसर प्रदान गर्दै आएको छ”, उहाँले भन्नुभयो, “परिषद् नेपालका राष्ट्रिय हितहरूको प्रवर्द्धन गर्दै राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा शान्ति, स्थायित्व र समृद्धिका लागि योगदान पुर्याउन निरन्तर प्रतिबद्ध रहेको छ ।”

आजको विश्व तीव्र परिवर्तनबाट गुज्रिरहेको उल्लेख गर्दै अध्यक्ष मल्लले विश्वको एक भागमा हुने घटनाले अर्को भागलाई प्रत्यक्ष प्रभाव पार्ने अवस्था सृजना भएको अवस्थामा मानवताको हितका लागि जारी युद्ध र द्वन्द्वको अन्त्य अपरिहार्य भएको बताउनुभयो ।

सोही अवसरमा परिषद्द्वारा प्रकाशित जर्नल पनि विमोचन गरिएको थियो । यस वर्षको जर्नलमा ‘अन्तरराष्ट्रिय परिदृश्य र यसको नेपालमाथिको प्रभाव’ विषयमा आधारित १९ वटा लेखहरू समावेश गरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.