नेपाली राजनीतिका सबैभन्दा प्रभावशाली र विवादास्पद नेतामध्ये एक नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली राजनीतिक यात्रा संघर्ष, संगठन निर्माण, राष्ट्रवाद, विकासका ठूला नारादेखि तीव्र आलोचना र आन्तरिक चुनौतीसम्म फैलिएको छ।
१४ वर्ष कठोर जेलजीवन बिताउनुभएका, तीनपटक मुलुकको नेतृत्व सम्हाल्नुभएका ओली नेपाली राजनीतिमा सबैभन्दा बढी प्रहार गरिने नेता पर्नुभएको छ । विपक्षीबाट मात्र होइन आफ्नै दलभित्रबाट पनि उहाँमाथि निरन्तर प्रहार भैरहेका छन् ।
पछिल्ला वर्षहरूमा एमालेभित्र र बाहिर एउटा बहस तीव्र बनेको छ—ओलीपछि एमाले के हुन्छ ? ओली नै एमालेका लागि अपरिहार्य हुन् कि पार्टीले नयाँ नेतृत्व खोज्नुपर्छ ? अझ जेनजी आन्दोलन र फागुन २१ को निर्वाचनपछि यो बहसले तीब्रता पाएको छ ।
अहिले अध्यक्ष ओली अस्वस्थ हुनुहुन्छ र एमालेको गतिविधि सुस्त छ । सरकारका गतिविधिविरुद्ध पार्टीको एउटै धार प्रष्ट नहुनु तथा नेतृत्व तहमा देखिएको असन्तुलनले एमालेको आन्तरिक संरचनामाथि प्रश्न उठाएको छ। यसले एउटा यथार्थ उजागर गरेको छ—एमाले अझै पनि संस्थाभन्दा व्यक्तिकेन्द्रित राजनीतिक संस्कृतिबाट पूर्ण रूपमा मुक्त हुन सकेको छैन।
पार्टीको संगठन बलियो भए पनि निर्णय प्रक्रिया र जनधारणा धेरै हदसम्म ओलीकै वरिपरि घुमेको देखिन्छ। ओलीको राजनीतिक शक्तिको मूल आधार तीनवटा पक्षमा टिकेको देखिन्छ—राष्ट्रवादी छवि, विकासमुखी दृष्टि र सशक्त वक्तृत्वकला।
विशेष गरी भारतसँगको सीमा विवाद, नाकाबन्दीको प्रतिरोध, नयाँ नक्सा प्रकाशन तथा राष्ट्रिय स्वाभिमानका मुद्दामा उनले निर्माण गरेको छवि जनतामाझ प्रभावशाली रह्यो। त्यसै गरी धरहरा पुनर्निर्माण, मध्यपहाडी लोकमार्ग, सुरुङमार्ग, रेल, पानीजहाजजस्ता महत्वाकांक्षी परियोजनाले उनलाई “विकासप्रेमी नेता” का रूपमा स्थापित गर्यो।
तर, समयसँगै यही छवि धुमिल बन्न थाल्यो। यसको एउटा कारण स्वयं एमालेभित्रको व्यवहार र सत्ता सञ्चालन शैली पनि हो। आलोचकहरूले ओली नेतृत्वलाई अत्यधिक केन्द्रीकृत, असहमतिप्रति असहिष्णु र गुटीय भएको आरोप लगाउँदै आएका छन्। पार्टीभित्र वैकल्पिक विचारलाई कमजोर बनाउने, दोस्रो पुस्तालाई सीमित अवसर दिने तथा निर्णय प्रक्रियालाई संकुचित बनाउने प्रवृत्तिले एमालेभित्र असन्तुष्टि बढाएको देखिन्छ।
अर्कोतर्फ विपक्षी दल तथा केही सञ्चारमाध्यमले ओलीको राष्ट्रवादी छविलाई “राजनीतिक राष्ट्रवाद” को रूपमा चित्रित गर्दै आलोचना गर्ने गर्दछन् । कतिपय विकास परियोजना घोषणामै सीमित भएको, कार्यान्वयन कमजोर भएको तथा भ्रष्टाचार नियन्त्रणमा अपेक्षित परिणाम नआएको आरोप पनि लाग्यो। सामाजिक सञ्जालको तीव्र राजनीतिक ध्रुवीकरणले समेत ओलीको छविलाई या त अत्यधिक महिमामण्डित गर्ने वा पूर्ण रूपमा नकारात्मक बनाउने काम गर्यो। परिणामतः उनको वास्तविक योगदान र कमजोरी दुवै राजनीतिक प्रचारको भीडमा मिसिन पुगेको छ ।
एमालेभित्र अहिले देखिएको अर्को महत्वपूर्ण पक्ष भनेको नेतृत्व परिवर्तनको बहस हो। केही नेताहरू पार्टी रुपान्तरण, पुस्तान्तरण र संस्थागत नेतृत्वको पक्षमा खुलेर वा संकेतमा बोल्न थालेका छन्। उनीहरूको तर्क छ—एमाले जस्तो ठूलो पार्टी कुनै एक व्यक्तिमा निर्भर हुनु दीर्घकालीन रूपमा जोखिमपूर्ण हुन्छ। संगठनभित्र प्रतिस्पर्धी, सक्षम र वैचारिक नेतृत्व तयार गर्नुपर्छ।
तर, ओलीको विकल्प सजिलै देखिने अवस्था भने छैन। एमालेभित्र अनुभव, जनआकर्षण, राष्ट्रिय मुद्दामा दृढ प्रस्तुति र संगठनमाथिको नियन्त्रण—यी सबै गुण एउटै नेतामा एकसाथ देखिन कठिन छ। दोस्रो पुस्ताका केही नेताहरू प्रभावशाली भए पनि उनीहरूले अझै राष्ट्रिय स्तरमा ओलीसरह जनविश्वास निर्माण गर्न सकेका छैनन्। यही कारण धेरै कार्यकर्ताले “ओलीपछि एमाले कमजोर हुन सक्छ” भन्ने चिन्ता व्यक्त गर्ने गरेका छन्।
यसको अर्थ ओली निर्विकल्प हुन् भन्ने होइन। लोकतान्त्रिक दलमा कुनै पनि नेता स्थायी विकल्प हुन सक्दैन। इतिहासले देखाएको छ—बलियो संगठनले समयअनुसार नयाँ नेतृत्व जन्माउँछ। एमालेले पनि आफ्नो पुरानो वैचारिक अनुशासन, संगठनात्मक शक्ति र जनआधारलाई पुनर्जीवित गर्न सकेमा नयाँ नेतृत्वको उदय सम्भव छ। तर त्यसका लागि नेतृत्व हस्तान्तरणलाई संकटको रूपमा होइन, स्वाभाविक राजनीतिक प्रक्रियाका रूपमा स्वीकार गर्नुपर्छ।
अहिले सरकारका गतिविधिप्रति एमालेका नेताहरू आक्रामक रूपमा प्रस्तुत भइरहेका छन्। भ्रष्टाचार, आर्थिक सुस्तता, सुशासनको कमजोरी, विदेश नीति तथा जनजीविकाका सवालमा उनीहरूले सरकारमाथि तीखा प्रहार गरिरहेका छन्। प्रतिपक्षको भूमिकाबाट हेर्दा यो स्वाभाविक पनि हो। तर जनताले केवल भाषणभन्दा बढी तथ्य, विकल्प र व्यवहारिक समाधान खोजिरहेका छन्।
एमालेका आलोचकहरू भन्छन्—सत्तामा हुँदा समाधान गर्न नसकेका विषय विपक्षमा पुगेर मात्र उठाउनु राजनीतिक अवसरवाद हो। अर्कोतर्फ एमाले समर्थकहरू वर्तमान सरकारलाई अस्थिर, दिशाहीन र जनअपेक्षाविपरीत भन्दै ओली नेतृत्वको तुलनात्मक प्रभावकारिता प्रस्तुत गर्छन्।
वास्तविकता के हो भने नेपालको राजनीति अहिले व्यक्तित्व र संस्थाबीचको संघर्षको चरणमा छ। एमाले पनि त्यसबाट अलग छैन। ओलीको राजनीतिक उचाइ, अनुभव र जनप्रभाव अझै बलियो छ। तर सँगै पार्टीभित्र नयाँ पुस्ता, नयाँ शैली र संस्थागत संस्कृतिको आवश्यकता पनि बढ्दो रूपमा महसुस भइरहेको छ।
एमालेलाई फेरि पुरानै जनविश्वास र ऊर्जामा फर्काउने हो भने केवल ओलीको करिश्मा पर्याप्त नहुन सक्छ। पार्टीले वैचारिक स्पष्टता, आन्तरिक लोकतन्त्र, सक्षम उत्तराधिकार योजना र जनताका दैनिक समस्यासँग जोडिएको व्यवहारिक राजनीति प्रस्तुत गर्नुपर्छ। ओलीले निर्माण गरेको राष्ट्रवादी र विकासमुखी राजनीतिक आधारलाई संस्थागत बनाउन सके एमाले दीर्घकालीन रूपमा बलियो रहन सक्छ।





प्रतिक्रिया राख्नुहोस्