राजनीति

संसद्को विश्वास मसँग छैन भने मैले मार्गप्रशस्त गर्छु

झुटो बोलेर देशमा तनाव, अनेकता र भ्रम फैलाउने काम नगरौं

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् र राजनीतिलाई स्थिरता दिन आफूलाई विश्वासका पक्षमा मतदान गर्न आग्रह गर्दै संसद्को विश्वास मसँग छैन भने आफूले मार्गप्रशस्त गर्ने बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले आफूलाई प्रतिनिधिसभाको विश्वास छ भन्ने प्रस्तावमाथि सदनमा उठेका प्रश्नको जवाफ दिँदै झुटो बोलेर देशमा तनाव, अनेकता र भ्रम फैलाउने काम नगर्न सुझाव समेत दिनुभएको छ ।



उहाँले भन्नुभयो, “देश विकास गर्ने हामी सबैको जिम्मवारी हो, आपसमा वैमनष्यता र घृणा फैलाउने होइन, मिथ्या राजनीति नगरौँ, देश बनाउने कुरा गरौँ, विभेदलाई अन्त्य गर्दै जानुपर्छ, त्यसका लागि सरकार लागेको छ, त्यसमा सबैको सहयोग आवश्यक छ ।”

जनताको मागका आधारमा संविधान संशोधन हुने बताउँदै उहाँले तर यसलाई मिच्ने काम कहीँकतैबाट हुनुहुन्न भन्नुभयो । कतिपय अवस्थामा देशको आवश्यकता एकातिर र संसदीय गणित अर्कातिर हुने जनाउँदै निर्वाचन गर्दा लोकतन्त्र र संसदीय व्यवस्था खतरामा नपर्ने उहाँले स्पष्ट गर्नुभयो ।

प्रधानमन्त्री ओलीले अध्यादेश मुलुकका कतिपय संरचनालाई चलायमान गराउन संवैधानिक व्यवस्थानुसार नै ल्याइएको स्पष्ट गर्नुभयो ।

अविश्वासको प्रस्ताव फिर्ता नलिने र विश्वासको मत पनि नदिने अवस्थालाई अन्त्य गर्न आफू विश्वासको मतका लागि अघि बढेको बताउँदै उहाँले विरोध गर्ने तर विकल्प नदिने परिस्थिति सिर्जना गरिनु ठीक नभएको टिप्पणी गर्नुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “संसद्को विश्वास मसँग छैन भने मैले मार्गप्रशस्त गर्नुपर्छ, विकास र स्थिरता, सहकार्य र सहमतिका लागि म ठूलो पार्टीका हैसियतले न्यायोचित हक राख्छु । त्यसैले विश्वासको मत मागेको छु ।

प्रधानमन्त्री निर्वाचनमा जान्छ कि भन्ने आशंका भए पक्षमा मतदान दिएर चकनाचुर तुल्याउन आग्रह गर्दै प्रधानमन्त्री ओलीले अहिलेको परिस्थितिमा संवाद, सहमति र एकताका आधारमा देशलाई अघि बढाउने अभियानमा जुट्न आह्वान गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button