जल/वातावरण

गर्भवती खोज्दै घरघरमा जनप्रतिनिधि र स्वास्थ्यकर्मी

जाजरकोटको नलगाड नगरपालिकाको गाउँगाउँमा गर्भवतीको घर खोज्दै वडाध्यक्षलगायतका स्वास्थ्यकर्मीहरू पुगेका छन् । हातमा हरियो झण्डा लिएर गर्भवती महिलाको घर खोज्दै, झण्डा गाड्दै जनप्रतिनिधि, स्वास्थ्यकर्मी गाउँगाउँमा हिँडिरहेका हुन् ।

स्वास्थ्य संस्थामा आएर नियमित गर्भजाँच गर्ने गर्भवतीलाई खोज्दै यो टोली गाउँमा गएको हो । गर्भवतीलाई पोसिलो खाना दिन र पहिचान गराउनका लागि घरघरमा झण्डा गाडिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले प्रत्येक वडामा रहेका गर्भवतीलाई पहिचान गरी पोसिला खानेकुरासहित घरघरमा झण्डा गाडेर सहयोग गरेको छ ।

नगरपालिकाभित्र रहेका ४५५ गर्भवती महिलाको घरमा झण्डा गाड्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले जानकारी दिनुभयो । गर्भवती तथा सुत्केरीलाई स्वास्थ्य अवस्था सुधार गरी निरोगी बनाउका लागि अण्डा उपलब्ध गराइएको छ ।

त्यस्तै स्थानीय जातको तोरीको तेल, एक जोडी कुखुराको भालेपोथीसमेत गर्भवती तथा सुत्केरी महिलालाई उपलब्ध गराइएको छ । गरिब, दलित, जनजाति र नियमित स्वास्थ्य जाँच गरेका महिलालाई मात्र यो सुविधा उपलब्ध गराइने सिंहले जानकारी दिनुभयो ।

प्रत्येक वडाबाट ३५ जना पर्ने गरी सो सामग्री वितरण गरिएको छ । अर्थाभाव भएकै कारण सुत्केरी भएको समयमा खाना नपाएपछि कुपोषण भएर धेरैको अकालमै ज्यान जाने गरेको दुःखद् अवस्थालाई हल गर्न नगरपालिकाले सबै खालका महिलालाई समानताका आधारमा मूल प्रवाहमा ल्याउनका लागि विशेष योजना ल्याएको नगरप्रमुख टेकबहादुर रावलले जानकारी दिनुभयो ।

उहाँका अनुसार नलगाड नगरपालिका–२ डाँडागाउँ, ३– कैना, ४– लहँ, ११– चौखा र १२– भगवतीस्थित स्वास्थ्य संस्थामा अनलाइन डाटा सम्प्रेषणका लागि कम्प्युटर र प्रिन्टर वितरण गरिएको छ । यो कार्यसँगै स्वास्थ्य संस्थामा आएर सुत्केरी हुनेको सङ्ख्या ह्वात्तै बढेको छ । उहाँका अनुसार भौगोलिक विकटताका कारण यहाँका सबै महिला घरमै सुत्केरी हुने क्रम बढेको र कुपोषणको समस्या देखिएपछि नगरपालिकाले यस्तो अभियान सञ्चालन गरेको हो ।

घरमा झण्डा गाड्दै अन्य सामग्री वितरणका साथै परिवारका अन्य सदस्यसँग गर्भवती भएको समयमा गरिने हेरचाह अनि परिवारको साथ सहयोगका विषयमा समेत अन्तक्र्रिया गरिँदै आएको स्रोत व्यक्ति किरण थापाले जानकारी दिनुभयो । सुनौला हजार दिनभित्रका महिलालाई यो सुविधा दिएपछि नगरपालिकाले आफ्नोपन देखाएको नगरपालिका–८ की गर्भवती रमिता खत्रीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “गर्भवती अवस्थामा पनि घरका आफन्तको दबाबमा गर्भवती नहुँदाको अवस्था झैँ काम गर्न लगाउने गरिथ्यो । काम नगरे मानसिक दबाब दिने गरिन्थ्यो, नगरबाट जनप्रतिनिधि र स्वास्थ्यकर्मी आएर सबैसँग बसेर छलफल गर्दा घरका सबैले गर्भवती अवस्थामा गरिने सुरक्षाको विषयमा थाहा पाएपछि अहिले माया पाएकी छु ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.