राजनीति

ओली-नेपाल सहमतिले कांग्रेस-माओवादीको सरकार गठन असम्भव

नेपाल पक्षका सांसदले राजीनामा नदिएपछि बहुमतको सरकार बनाउने दावी पेश नगर्ने

सत्तारुढ नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच पार्टी विवाद टुंगाउने विषयमा सहमति बनेपछि नेपाली कांग्रेस र माओवादीले बहुमतको सरकार गठन गर्ने दावी सफल भएको छ ।

ओली र नेपालबीच बिहीबार अपरान्ह बुढानिलकण्ठमा भएको भेटवार्तामा विवाद समाधानका लागि कार्यदल बनाएर जाने सहमति भएपछि नेपाल पक्षका सांसदहरुको राजीनामा रोकिएको छ । यो घटनासंगै देउवाको प्रधानमन्त्री बन्ने सम्भावना पनि टरेको छ ।

बहुमतको सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय बिहीबार राति ९ बजे सकिँदैछ । बहुमतको सरकार गठनका लागि प्रतिनिधिसभाका १३६ सांसदको समर्थन आवश्यक पर्छ । तर नेपाली कांग्रेससँग ६१ (दुई निलम्बित) र नेकपा माओवादी केन्द्रसँग ४९ सांसद मात्र छन् ।

३२ (दुई निलम्बित) सांसदको समर्थन रहेको जनता समाजवादी पार्टीभित्र सरकार गठनका विषयमा विवाद रहेकाले कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बहुमतको सरकार गठनको दावी नगर्ने निष्कर्षमा पुग्नुभएको हो ।

सरकार गठनमा बहुमत पुर्‍याउन कांग्रेस र माओवादी केन्द्रले माधवकुमार नेपाल पक्षका नेकपा एमाले सांसदको राजीनामा आशा गरेका थिए । तर प्रधानमन्त्री ओली र नेता नेपालबीच बिहीबार दिउँसो सहमति भएपछि नेपाल पक्षले तत्काल राजीनामा नदिने भएको छ ।

यससँगै एमाले अध्यक्ष केपी शर्मा ओली नै प्रधानमन्त्री बन्ने लगभग पक्का भएको छ । उहाँ जनता समाजवादी पार्टीको महन्थ(राजेन्द्र समूहका सांसदको समर्थन लिएर बहुमतको प्रधानमन्त्री नै दावी गर्ने वा संविधानको धारा ७६ (३) अनुसार अल्पमतको प्रधानमन्त्री बन्ने भन्ने प्रष्ट छैन ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.