राजनीति

सांसद बस्नेतको सक्रियतामा सूर्यविनायकमा ७५ र ठिमीमा ५० शय्याको अस्पताल निर्माण हुने

पूर्वमन्त्री एवं सांसद महेश बस्नेत कोभिड–१९ सङ्क्रमणमुक्त भएसँगै जिल्लामा कोरोना रोकथाम तथा नियन्त्रण र विकासका काममा सक्रिय हुनुभएको छ । अक्सिजन र शय्या अभावले कोरोना सङक्रमितको ज्यान जोखिममा परेपछि अक्सिजनको व्यवस्था गर्न र अस्पतालको पूर्वाधार निर्माणमा तीब्रता दिन उहाँ सक्रिय हुनुभएको छ ।

सांसद बस्नेतले अहिले आइपरेको स्वास्थ्य समस्या तथा जिल्लामा विकासका लागि गत लकडाउनमा पनि आफू सक्रिय रहेको जनाउँदै बुधबार र आज गरेर प्रधानमन्त्री, मन्त्री, सचिवसम्मका उच्चस्तरीय प्रतिनिधिसमेतको भेटवार्ताबाट जिल्लामा विभिन्न १५ योजनाका कार्य पूरा गराउन सफल भइएको राससलाई बताउनुभयो ।

सांसद बस्नेतले निर्वाचन क्षेत्र पुर्वाधार विकास कोष र सूर्यविनायक नगरपालिकाको साझेदारीमा भक्तपुरको जगातेमा निर्माण भइरहेको सूर्यविनायक नगर अस्पतालको अनुगमन गर्दै आगामी १५ दिनभित्र अस्पताल सञ्चालनमा ल्याउने गरी काम गर्न निर्देशन दिनुभयो । सांसद बस्नेत, नगरप्रमुख वासुदेब थापा, अस्पताल निर्माण समितिका संयोजक एवं ८ नं।का अध्यक्ष किरण थापा र ७ नं. का अध्यक्ष रवीन्द्र सापकोटाको टोलीले अस्पताल निर्माणको अनुगमन गरेको थियो । आगामी जेठ ११ गतेभित्र अस्पताल सञ्चालनमा ल्याउने गरी काम भइरहेको र ७५ शय्याको सूर्यविनायक नगर अस्पताल सञ्चालनमा ल्याइने भएको छ ।

सांसद बस्नेतसहितको उक्त टोलीले डा। राकेश बर्मा, डा। मनिषा कार्की, नगरपालिकाका लेखा अधिकृत अनिरुद्र नेपाल, इन्जिनियर उमेश बस्नेत, अस्पताल निर्माण समितिको अध्यक्ष मनकराम थापासहितले अस्पताल सञ्चालनमा ल्याउनेबारे निर्णय गरेको हो । अस्पताल सञ्चालनका लागि सूर्यविनायक नगरपालिकाले रु। पाँच करोड बजेट व्यवस्थापन गरी संघीय सरकार र प्रदेश सरकारको सहयोगमा जेठ १० गते भित्र १० शय्याको आइसियु, १५ शय्याको हाइकेयर युनिट र ५० शय्याको जनरल वार्ड सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।

सांसद बस्नेतले आफू स्वस्थ्य भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीसहितसँगको छलफलबाट सूर्यविनायक अस्पताललाई थप पाँच शय्या आइसियु र १५ शय्याको हाइकेयर युनिट सञ्चालन गर्न सहयोग गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

सांसद बस्नेतको टोलीले भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री डा। शिवमाया तुम्बाहाङ्फेसहितसँग भेटेर सूर्यविनायक अस्पतालकोे जमिन, मानव अंग प्रत्यारोपन केन्द्र, क्यान्सर अस्पताल एवं एकीकृत सरकारी कार्यालय निर्माण, यातायात कार्यालयको निर्माण, सहना मंगला असाहाय केन्द्रको जग्गा व्यवस्थापन, मनोहरा नदिको ४५ रोपनी एवं हनुमन्ते नदिको ५४ रोपनी जग्गाको अवैध दर्ता खारेज र सुकुम्बासी समस्या समाधानका लागि पहल गरेको सांसद बस्नेतका स्वकीय सचिव दिनेश थापाले जानकारी दिनुभयो ।

त्यस्तै वाग्मती प्रदेशका नवनियुक्त सामाजिक पुर्वाधारमन्त्री सरस्वती बस्नेतलाई भक्तपुर अस्पतालमा देखिएको अक्सिजन अभावको हटाउन, भेन्टिलेटर र आइसियू थप गर्न र पर्याप्त अक्सिजनको व्यवस्था गर्न सगरमाथा कम्पनीबाट अक्सिजन उपलब्ध गराउन पनि छलफल भएको छ । स्वास्थ विभागका महानिर्देशक दीपेन्द्ररमण सिंहसँग सांसद बस्नेतले छलफल गरी भक्तपुर अस्पतालमा कोभिड नियन्त्रणका लागि आएका विभिन्न सामाग्री र अक्सिजन व्यवस्थापन गर्न अस्पतालका मेडिकल डाइरेक्टर डा। सुमित्रा गौतमलाई जिम्मा दिने निर्णय गरेको छ ।

ठिमीस्थित राष्ट्रिय क्षयरोग केन्द्रमा निर्माण भइरहेकोे ५० शय्याको छाती रोग अस्पताललाई कोभिड आइशोलेसन वार्ड बनाउने निर्णय पनि भएको सांसद बस्नेतले जानकारी दिनुभयो । शहरी विकास विभागका महानिर्देशक नवराज प्याकुरेलसँग भएको छलफलबाट उक्त अस्पताल भवनको भेरियसन अर्डर अगाडि बढाएर आवश्यक बजेट थप गरी कोरोना भएका छाती तथा क्षयरोगका विरामीको उपचार गर्ने गरी आइशोलेसन बनाउने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।

सांसद बस्नेतले संघीय मामिला तथा स्थानीय विकास सचिव एकनारायण अर्यालसहितको छलफलमा सूर्यविनायक अस्पताल, पुल र सडकका पुर्वाधार निर्माणमा थप रु। ६ करोड बजेटको व्यवस्थापन गर्ने निर्णय भएको बताउनुभयो । । गठ्ठाघरमा पाँच हजार क्षमताको सभाहल, मदन भण्डारी स्मृति खेल मैदान तथा पार्क र बालप्रतिभा उद्यान निर्माणको काम तत्काल अगाडि बढाउने निर्णय भएको छ ।

वन तथा वातावरण मन्त्री प्रेम आले र सचिव प्रेम कंडेलसँग छलफल गरी सूर्यविनायकमा निर्माणाधिन प्राणी उद्यान केन्द्रको डिपिआरका लागि विनियोजित रु। चार करोड बजेटको काम तत्काल अगाडि बढाउने, उक्त उद्यानको रिङ्रोड निर्माणका लागि विनियोजित रु। पाँच करोडमा सूर्यविनायक चोक, गणेशस्थान कृष्ण मन्दिर–गुण्डु छेडा–कार्की गाउँ–मन्थली सडकको निर्माण गर्ने र रुख कटानी गर्न आइइ रिपोर्ट पारित गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।

सांसद बस्नेतले उपप्रधानमन्त्री ईश्वर पोखरेल, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भानुभक्त ढकाल, सांसद निरुदेवी पाल र सांसद किसान श्रेष्ठसितको छलफलमा अहिले कोभिड–१९ को दोस्रो भेरियन्टको अवस्थामा देखिएका समस्या हल गर्न र भक्तपुर अस्पताल, महाकाली अस्पताल, तनहँु, अर्घाखाँची, रौतहट तथा दाङ अस्पताल समेतमा स्वास्थ सामाग्री एवं अक्सिजन तत्काल व्यवस्थापन गर्न आग्रह गरिएको बताउनुभयो ।

यस्तै ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री टोपबहादुर रायमाझी, पूर्वमन्त्री अनिलकुमार झा, शान्ता चौधरी, कोमल ओली र गंगा चौधरीसँग भएका छुट्टाछुट्टै छलफलको आधारमा सांसद बस्नेतको टोलीले अर्थमन्त्री विष्णुप्रसाद पौडेल र सचिव शिशिर ढुङ्गानासँग छलफल गरी भक्तपुरलाई थप रु। १० करोड बजेट, महाकाली अस्पताललाई रु। चार करोड, रौतहट, दाङ, अर्घाखाँची र तनहुँलाई पनि आवश्यक बजेट दिनेबारे छलफल गरेको छ । यस्तै सांसद् बस्नेतसँग औद्योगिक क्षेत्र ब्यवस्थापन लिका अध्यक्ष नन्दकिशोर बस्नेतबीच अक्सिजन सिलिण्डर व्यवस्थापन गर्न छलफल भएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.