राजनीति

ओली-नेपालसहितका एमालेका शीर्ष नेता छलफलमा

दुई पक्षका साथमा माओवादीबाट आएका नेताहरु सम्मिलित कार्यदल बनाइने

लामो समयदेखिको विवाद सहमतिमा समाधानन गर्ने र त्यसका लागि कार्यदल गठन गर्ने सहमति नेकपा एमालेका अधयक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भए अनुसार शुक्रबार पार्टीका शीर्ष नेताहरु आपसी छलफलमा सक्रिय हुनुभएको छ ।

सिंहदरबारमा पार्टीका एवं प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेल, नेताहरु सुवासचन्द्र नेम्वाङ, रामबहादुर थापा, भीमबहादुर रावल, सुरेन्द्रप्रसाद पाण्डेसहितका नेता छलफलमा जुट्नुभएको हो ।

अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच विहीबार बुढानिलकण्ठमा भएको एक्ला एकलै बार्तामा भएका छलफलको विषय र समाधान गर्नुपर्ने विवादका विषयमा छलफल हुने नेता नेम्वाङले जानकारी दिनुभयो ।

वरिष्ठ नेता नेपाल पक्षका नेताहरुले २०७५ जेठ २ गतेको अवस्थामा एमालेलाई फर्काउनुपर्ने र गत फागुन २८ गतेको निर्णय खारेज हुनुपर्ने माग राख्दै आउनुभएको छ । अध्यक्ष र नेता नेपालबीच पनि सोही विषयमा केन्द्रित भएर विहिबार छलफल भएको थियो ।

अध्यक्ष ओली समस्या समाधानका लागि कार्यदल गठन गरी अगाडि बढ्न सहमत हुनु भएपछि नेता नेपाल पक्षका नेताहरुले पार्टीको आन्तरिक एकता अगाडि बढेको विश्वास पलाएको प्रतिक्रिया दिनुभएको छ । सामुहिकरुपमा राजिनामा दिने तयारी गर्नुभएका नेपाल पक्षका नेताहरुले अध्यक्ष ओलीले माग सम्बोधन गर्ने बताउनुभएपछि सामुहिक राजीनामा रोकिएको नेता नेपालले प्रतिक्रिया दिनुभएको थियो ।

बिहिबार एक्ला एक्लै भएको विषयलाई दोस्रो तहका नेताहरुलाई समेत सँगै राखेर छलफल हुन लागेको र समस्या समाधानका लागि गृहकार्य गर्न कार्यदल गठन हुनसक्ने अनुमान गरिएको छ । कार्यदलमा अध्यक्ष ओली र नेता नेपाल पक्षका नेताहरुको सहभागीता रहने बताइएको छ ।

विहिबार भएको छलफलमा कार्यदलमा अध्यक्ष ओलीको पक्षबाट नेताहरु विष्णुप्रसाद पौडेल, सुवासचन्द्र नेम्वाङ, शंकर पोखरेलको नाम चर्चामा आएको छ । त्यस्तै, नेता नेपालको तर्फबाट भीमबहादुर रावल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, घनश्याम भुषालको नाम आएको छ । त्यस्तै माओवादीबाट एमालेमा आएका करिब दुईजना नेताको समेत कार्यदलमा सहभागीता रहने एमाले स्रोतले बताएको छ ।

सिंहदरबारको बैठक अघि नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू निकट केन्द्रीय सदस्यहरुसंग छलफल गर्नुभएका थियो । सो छलफलमा बिहिबार अध्यक्ष केपी शर्मा ओलीसँग भएको वार्ताबारे जानकारी गराउनुभएको थियो ।

नेता नेपालले आफ्ना पक्षका नेताहरुसंग अधयक्ष ओेली आफ्नो समूहले राखेको शर्त मान्न तयार भएकैले सहमति जुटेको बताउनुभएको थियो थियो । ओलीसँग वार्ता भएपछि नेता नेपाल समूहका सांसदहरुको राजीनामा रोकिएको थियो । राजीनामा रोकिएपछि बहुमतको सरकारको सम्भावना टरेर ओली फेरि प्रधानमन्त्री नियुक्त भएर मन्त्रिपरिषद् समेत गठन गरिसक्नुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.