जन सरोकार

महामारी रोक्न सबै स्रोत, साधान र जनशक्ति प्रयोग गर्न आग्रह

पत्रकारिताका माध्यमबाट मानव जीवनको रक्षाका लागि योगदान पुर्याउन आव्हान

कोरोना भाइरसको दोस्रो लहरले आक्रान्त मुलुकमा यसको रोकथामका लागि सरकारी प्रयास प्रभावकारी नभैरहेको अवस्थामा नेपाल पत्रकार महासंघले कोरोना महामारी नियन्त्रणमा गम्भीर बन्न सरकारसँग आग्रह गरेको छ ।

नेपाल पत्रकार महासङ्घ

महासंघका अध्यक्ष विपुल पोखरेलले शनिबार विज्ञप्ति जारी गर्दै महामारीमा मानवीय क्षति रोक्न राज्यको सबै स्रोत, साधन र जनशक्ति प्रयोग गर्न आग्रह गर्दै राज्यको फितलो तयारीले गर्दा आम नागरिकले अक्सिजन र सहयोगी औषधिसमेत पाउन नसकी मृत्युवरण गर्नु परेको भन्दै नागरिकको स्वास्थ्य सुरक्षामा संवेदनशील बन्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

विज्ञप्तिमा राज्यको तर्फबाट प्रबन्ध गर्नुपर्ने अक्सिजन, अस्पतालमा बेड र उचित उपचार समेत उपलब्ध गराउन नसक्दा महामारीमा जोखिम मोलेर कार्यक्षेत्रमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार लगायत फ्रन्टलाइनरसहित ४ हजारभन्दा धेरैले ज्यान गुमाइसकेको प्रति दुःख व्यक्त गर्दै परिस्थितिको गम्भीरता बुझेर प्रभावकारी कदम चाल्न आग्रह गरिएको छ ।

मुलुकमा एकातिर महामारीको संकट र अर्कोतिर देशका धेरै ठाउँमा घोषित निषेधाज्ञा र केही भागको अघोषित निषेधाज्ञाले बिहान बेलुकी काम गरेर दैनिक जीवन निर्वाह गर्दै आएका नागरिकहरू समस्यामा परेको भन्दै यस्ता वर्गलाई राज्यले कुनैप नि राहतका कार्यक्रम ल्याउन नसकेको प्रति महासंघले दुःख व्यक्त गरेको छ ।

त्यस्तै अध्यक्ष पोखरेलले विज्ञप्तिमार्फत् विपद्को घडीमा आफ्नो क्षेत्रबाट कलम चलाउने पत्रकारहरूले पनि आचारसंहितालाई मध्यनजर गर्दै मानव जीवनको रक्षाका लागि पत्रकारिताका माध्यमबाट योगदान पुराउनेतर्फ अझ सशक्त भएर अगाडि बढ्न आह्वान गर्नुभएको छ ।

पत्रकारहरूलाई नागरिकलाई सही सूचना दिएर कोरोनाबाट जोगिन एवं आत्मबल बढाउन मद्दत गर्दै बेथिति र बदनियतको उजागर गरेर राज्यलाई जिम्मेवार बनाउन समेत भूमिका खेल्न अध्यक्ष पोखरेलले आह्वान गर्नुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.