भूकम्पले लमजुङ र तनहुँमा घर भत्किंदा चारजना घाइते
मानिसहरूको मास्क विना भीडभाड गर्दा सङ्क्रमणको जोखिम समेत बढेको
बुधबार विहानै लमजुङको भुलभुले केन्द्रविन्दु भएर गएको भूकम्पका कारण लमजुङ र तनहुँमा घर भत्किदा चारजना घाइते भएका छन् । घाइते हुनेमा बेसीशहर नगरपालिका–६ का ३६ वर्षीय उमा गुरुङ, वडा नं ११ चितीका ८३ वर्षीय खकाकुमारी पाण्डे, वडा नं ८ का २९ वर्षीय खुशीमाया गुरुङ र मर्स्याङ्दी गाउँपलिका–६ ठुलीबेसीका २२ वर्षीय गोविन्द अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरूमध्ये खुशीमाया र गोविन्द भने भाग्ने क्रममा चोट लाग्न पुगी घाइते भएका थिए । घाइतेहरुको जिल्ला अस्पताल लमजुङमा उपचार भइरहेको छ । उनीहरुको टाउको, हातखुट्टालगायतका शरीरमा चोट लागेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश मिश्रले बताउनुभयो ।
घाइते उमा घरमै सुतिरहेको अवस्थामा भूकम्प जाँदा घर भत्किएर शरीरको आधा भाग नै पुरिएको थियो । त्यसपश्चात् स्थानीयवासीले उद्धार गरेर एम्बुलेन्समार्फत जिल्ला अस्पताल पुर्याउन सफल भएको तर प्रहरीलाई बेलैमा खबर गर्दासमेत नआएको स्थानीयवासीको गुनासो छ ।
उमासहित उहाँकी छोरी श्रृती गुरुङ पनि सोही स्थानमा सुतिरहे पनि उनी भने मर्निङवाक जाने भनेर हिंडेको एक मिनेटमै भूकम्प गएको थियो । श्रृती मर्निङवाक जाने भनेर घरबाट हिंडेकाले घाइते हुनबाट जोगिएको उनले बताइन् । श्रृतीले भनिन्, “घरमा ममी र म मात्र थियौँ, बाबा कामको सिलसिलामा मनाङमा हुनुहुन्छ, अब घर भत्कियो कता कसरी बस्ने भइरहेको छ ।”
प्रहरी निरीक्षक मिश्रका अनुसार भूकम्पले घाइते उनीहरुको घरसहित बेसीशहर–१ का शम्शेर परियार, वडा नं ३ रानीकुवाका दीपक बराल, नवीन बराल, गोरे क्षेत्री, वडा नं ६ मकैडाँडाका लक्ष्मी अधिकारी, तुलबहादुर अधिकारी, टेकबहादुर अधिकारी, मर्स्याङ्दी–३ तरापुका वासुदेव खत्रीको घरमा क्षति पुगेको छ ।
त्यस्तै मध्यनेपाल नगरपालिका–७ का तीर्थराज घिमिरे, बेसीशहर–६ कै धीरबहादुर रिमाल, बुद्धिबहादुर रिमालको घरमा क्षति पुगेको छ । यी अधिकांश घरहरु ढुङ्गामाटा र जस्तापाताको छानोबाट बनेको प्रहरीले जनाएको छ । त्यस्तै थप अन्य विस्तृत जानकारी प्राप्त हुन बाँकी रहेको प्रहरीको भनाइ छ ।
त्यस्तै तनहुँको व्यास नगरपालिका–१४ मा एक कृष्णबहादुर कामीको घरमा क्षति पुगेको हो । विसं २०७२ को भूकम्पले चर्किएको घर भत्किएको वडाध्यक्ष काजीमान श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार घरको माथिल्लो तल्लाको भागमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले भूकम्पको क्षतिको विवरण आइनसकेको बताएको छ ।
लमजुङसहित छिमेकी जिल्ला मनाङ, कास्की, गोरखालगायतका जिल्लामा समेत धक्का पुगेको बताइएको छ । लमजुङमा भने अझै पटकपटक भूकम्पको पराकम्पन जाने क्रम जारी रहेको छ । यसरी पटकपटक भूकम्पको धक्का गइरहेकाले यहाँका स्थानीयवासी घरबाहिर सडक र खुला ठाउँमा निस्किएर बसेका छन् । त्यस्तै कोरोना सङ्क्रमणका बेला मानिसहरूको मास्क विना भीडभाड देखिन्छ । यसले गर्दा सङ्क्रमणको जोखिम समेत बढेको छ ।
प्रतिक्रिया राख्नुहोस्