लकडाउनले सुरक्षित रहेन उपत्यका : सबै नाका सिल गर्न माग

तराईका केही जिल्लाहरुमा कोरोना संक्रमित देखिंदा काठमाडौं उपत्यका सुरक्षित मानिएको थियो । तर विदेशबाट आएका तीनजनामा कोरोना संक्रण देखिएलगत्तै बढेको जोखिम अहिले उच्चबिन्दूमा पुगेको छ ।
अघिल्लो हप्ता लकडाउन केही खुकुलो पार्नासाथ उपत्यका भित्रिनेहरुको लर्को लाग्यो र संगसंगै कोरोना पनि भित्रियो । काठमाडौंमा अझै पनि सडक नाका बाहेक पैदल हिंडेर बाहिरी जिल्लाबाट मानिस भित्रिने क्रम रोकिएको छैन ।
काठमाडौंका शहरी, ग्रामीण र काँठ क्षेत्रमा समेत कोरोना संक्रमित भेटिइसकेका छन् । उत्तरी भेगमा पर्ने गोकर्णेश्वर नगपालिका वडा नं. ४ मा बहिरी जिल्लाबाट आएका एक व्यक्तिमाा संक्रमणको पुष्टि भयो । संक्रमण पुष्टि भएको १८ घण्टापछि उनलाई अस्पताल लएिको छ ।
त्यस्तै कपनमा एक युवती संक्रमित भएको पाइयो, उनी पनि उपत्यका बाहिरबाट आएकी थिइन् । अन्य क्षेत्रमा भेटिएका संक्रमित पनि बाहिरबाटै आएका हुन् ।
यस्तो स्थितिमा काठमाडौँ महानगरपालिकाले कोरोना रोकथाम र नियन्त्रणका लागि लकडाउन अवधिभर उपत्यका प्रवेश गर्ने सबै नाका सिल गर्न नेपाल सरकारसँग माग गरेको छ । विश्वभरि फैलिएको कोरोना भाइरसले पछिल्लो समय काठमाडौँ उपत्यकामा पनि सङ्क्रमण बढ्दै गइरहेकाले कामपाको ४६औँ विशेष नगर कार्यपालिका बैठकको निर्णयले यस्तो आग्रह गरेको हो ।
‘कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनको अवधिमा उपत्यका प्रवेश गर्ने प्रवेश विन्दु (नाका) बाट अत्यावश्यक सेवा प्रवाहमा संलग्न सवारी साधन तथा पासको दुरुपयोग गरी उपत्यका प्रवेश गर्ने क्रम नरोकिएको भन्दै कामपाले यस किसिमको आग्रह गरेको हो ।
प्रवक्ता ईश्वरमान डङ्गोलले काठमाडौँमा कोरोना भाइरस सङ्क्रमणको खतरा बढ्दै गएकाले यसको रोकथाम र नियन्त्रणका लागि लकडाउन अवधिभर उपत्यका प्रवेश गर्ने सबै नाका सिल गर्न नेपाल सरकार, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई लेखी पठाउने निर्णय बैठकमा भएको जानकारी दिनुभयो ।
त्यसैगरी लकडाउनको अवधिमा कोही व्यक्ति अत्यावश्यक कामका लागि काठमाडौँ उपत्यकाभित्र प्रवेश गर्नुपर्ने भए निजको प्रस्थानविन्दुमै कोभिड–१९ को परीक्षण गरी रिपोर्ट नेगेटिभ आएको पुष्टि भएपछि मात्र उपत्यकामा प्रवेश गर्न अनुमति दिने व्यवस्था मिलाउनुपर्ने पनि बैठकमा जारी विज्ञप्तिमा भनिएको छ ।
लकडाउनको उल्लङ्घन गरी अनुमति नलिई लुकीछिपी काठमाडौँ उपत्यका प्रवेश गर्ने व्यक्ति र निजलाई सहयोग पु¥याउने व्यक्तिलाई समेत कारवाही गर्न पनि माग गरिएको छ । क्वारेन्टिन व्यवस्थापन गर्न बनेको मापदण्ड, २०७६ बमोजिम कामपा क्षेत्रमा आवश्यक सङ्ख्यामा क्वारेन्टिन सञ्चालन र व्यवस्थापन गर्न पनि माग गरिएको छ ।
अत्यावश्यक सार्वजनिक सेवा प्रवाहमा संलग्न जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, सुरक्षाकर्मीको कोरोना भाइरससम्बन्धी परीक्षणको अविलम्ब व्यवस्था मिलाउन पनि नेपाल सरकारलाई अनुरोध गरेको डङ्गोलले जानकारी दिनुभयो । कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको र यसका लागि लकडाउनको अवधि पनि थप हुँदै गएको सन्दर्भमा समाजमा चोरी, घरेलु हिंसा, मानसिक रोगजस्ता सामाजिक समस्या देखापर्ने सम्भावना देखिएकाले यसतर्फ पनि ध्यान दिन आग्रह गरिएको छ ।
प्रतिक्रिया राख्नुहोस्